देशका २९ वटा जिल्लामा पूर्णखोप सुनिश्चित
काठमाडौँ, १२ कात्तिक । देशका २९ जिल्लालाई पूर्ण खोप सुनिश्चिता भएको जिल्ला घोषित गरिएको छ । पछिल्लो पटक गत २४ असोजमा सिन्धुपाल्चोक पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको थियो ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार यसअघि धनकुटा, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र पाँचथर जिल्ला पूर्णखोपयुक्त जिल्ला घोषित भएका थिए ।
यस्तै दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, म्यादी, तनहुँ लमजुङ, मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त जिल्ला घोषित भएका थिए ।
यसैगरी रुपन्देही, प्यूठान, दैलेख, डडेलधुरा, अछाम, बैतडी, बझाङ, दार्चुला र कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
बालबालिकालाई खोपको पहुँचमा पु¥याई खोपको अभावका कारण हुने मृत्युदर रोक्न खोप कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ ।
सन् २०१७ सम्ममा देशलाई पूर्ण खोप राष्ट्र बनाई फड्को मार्ने लक्ष्य लिएको भए पनि आसन्न निर्वाचन र आचारसंहिताका कारण सो लक्ष्य प्राप्ति हुने देखिँदैन ।
बालस्वास्थ्य महाशाखाअन्तर्गत खोप शाखाका खोप अधिकृत भरत भण्डारीले रामेछाप, सोलुखुम्बु, काठमाडौँ, भक्तपुर लगायतका जिल्ला पूर्ण खोप सुनिश्चिताका लागि योग्य भए पनि निर्वाचन आचारसँहिताका कारण घोषणा हुन नसकेको बताए ।
उनले भने, “आगामी माघसम्म धेरै जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य छ, अहिले धेरै अधिकार स्थानीय तहमा गएकाले समस्या देखिएको छ ।” रासस
सम्पर्क इमेल : [email protected]