तीनवर्ष बित्दा पनि मिर्गौला प्रत्यारोपण हुनसकेन

(नारायण ढुंगाना) चितवन, ८ कात्तिक । चितवनका एक व्यक्तिले आर्थिक अभावका कारण तीन वर्ष बित्दासमेत मिर्गौलाको प्रत्यारोपण गराउन सकेका छैनन् ।

भएको जग्गा बेचेर लाखौँ ऋण लागिसक्दासमेत उनले मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताएका छन् । रोगको पहिचान र डाईलाइसिसमा ठूलो रकम खर्च भएकाले आर्थिक अभाव हुँदा प्रत्यारोपणमा समस्या भएको बताइएको छ ।

भरतपुर महानगरपालिका–११ भोजाडका ५६ वर्षीय मनबहादुर गुरुङको दुवै मिर्गौलाले कामगर्न छाडेको तीन वर्ष भइसक्यो । उहाँले अझै मिर्गौला प्रत्यारोपण गराउन सकेका छैनन् ।

“तीन वर्षदेखि मिर्गौलाको डाइलाइसिस गर्दै आएको छु, मनबहादुरले भने, मिर्गौला प्रत्यारोपण गर्न पैसा छैन ।” उनलाई सुगर र प्रेसरको समेत रोग छ ।

पैसा नभएपछि उनले सहयोगको याचना गरेका छन् । शुरुमा चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गर्नुभएका उनले काठमाडौँको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गरे ।

पछि राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौँमा उपचारको क्रममा डाक्टरले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएपछि मनबहादुरलाई पीडा थपियो ।

सरकारले मिर्गौलाको डाइलाइसिस निःशुल्क गर्ने व्यवस्था मिलाए पनि डाइलाइसिस गर्नलाग्ने औषधि खर्च जोहो गर्न धौधौ भएको उनी बताउछन्।

छजनाको परिवार रहेको उहाँलाई अहिले दैनिक गुजारा चलाउन पनि मुस्किल छ । श्रीमान्को उपचार गर्नको लागि भएको सातधुर जग्गा पनि बिक्री गर्नुपरेको र उपचारको लागि करिब रु ३० लाख लाग्ने गंगामायाले बताइन् ।

ऐलानी जमिनमा सानो घरमा बस्दै आएको छ, गुरुङ परिवार । आफूले एउटा मिर्गौला दिन चाहेपनि पैसा नभएर प्रत्यारोपण हुन नसकेको उनको दुखेसो छ । मनबहादुर यसअघि भृकुटी कागज कारखाना, गैँडाकोटमा जागिरे थिए। सो कारखाना बन्द भएकाले रोजगारी पनि गुम्यो ।

उनले पाउनुपर्ने करिब रु पाँच लाख छ । त्यो पैसा आए पनि उपचारमा सहयोग पुग्ने उनको परिवारका सदस्य बताउँछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *