सप्तरीको बरसाइनबासी आइरनयुक्त पानी पिउन बाध्य
(अरुणकुमार यादव )राजविराज, ८ कात्तिक । सप्तरीको बरसाइनमा खानेपानीको समस्या भएको छ ।
सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा जिल्लाको अतिविकट ठाउँमा अवस्थित बोदेवरसाइन नगरपालिकाको बरसाइन बजारमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको पाइएको छ ।
सो बजारलगायत आसपास क्षेत्रमा रहेका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध तथा उचित पानी खानबाट वञ्चित भएको स्थानीयबासी वीरेन्द्र साहले बताए।
त्यहाँ रहेका अधिकांश टु्यबेलको पानीमा आइरन भएकाले सो पानीबाट लुगा धुँदा सेतो लुगा पनि रातो र खैरोे जस्तो हुने गरेको साहले गुनासो गरे।
साथै, आइरन भएको पानीले भाँडावर्तन माझ्दा पनि रातो हुने गरेको बताउँदै दाँत माझ्दा दाँत खराब हुने र नुहाउँदा कपाल फुल्ने जस्ता समस्याबाट स्थानीयवासी पीडित रहेको उनले भने ।
खानेपानीको उचित व्यवस्था नभएकाले यहाँका करिब ९० प्रतिशत टु्यबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खान समस्या भएको साहको भनाइ रहेको छ ।
जोगिया, बराहा, शारसर, नेङडा, धनगढी, काचन, देउरी, फूलकाही खडकपुर, मानराजा र लागपुरलगायत दर्जनौँ गाउँको टु्यबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट आफूहरु वञ्चित भएको जोगिया निवासी रोशन यादवले गुनासो गरे।
सो क्षेत्रमा खानेपानी सम्बन्धि हालसम्म कुनै काम नभएको र सरकार तथा सम्बन्धित निकाय पनि मौन रहेको स्थानीयबासीको गुनासो पाइएको छ ।
यता जिल्ला खानेपानी डिभिजन कार्यालयले भने बरसाइनमा देखिएको खानेपानी अभाव र उचित पानी तथा शुद्ध पानीको लागि त्यहाँ छिट्टै काम शुरु हुने बताएको छ । रासस
सम्पर्क इमेल : [email protected]