आइओएमद्धारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा स्थगन
काठमाडौँ, ३० असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले गत २८ असोजमा लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशन कार्य स्थगित भएको जनाएको छ ।
आइओएमको प्रवेश परीक्षा सञ्चालक समितिले हिजो जारी गरेको सूचनामा परीक्षामा केही नक्कली परीक्षार्थी भेटिएको र केहीले डिभाइसको प्रयोग गरेको पाइएको र त्यस विषयमा छानवीन भइरहेको भन्दै नतिजा प्रकाशन कार्य स्थगित भएको जनाएको छ ।
त्यसअघि हिजो नै चिकित्साशास्त्र तर्फका विद्यार्थीहरुको विभिन्न समूह तथा विद्यार्थी समूहले आईओएमका डीन, मेडिकल काउन्सिल तथा शिक्षामन्त्रालयमा पुगी परीक्षाको नतिजा स्थगित गर्न माग गरेको थियो ।
आइओएमद्धारा जारी गरेको सूचनामा शनिबारको परीक्षामा ८ जना नक्कली परीक्षार्थी र तीन जना डिभाइस प्रयोग गरि परीक्षा दिएका विद्यार्थी भेटिएको उल्लेख गरेको छ । जवकी अनुसन्धानमा खटिएको प्रहरीले त्यो भन्दा धेरैलाई पक्राउ गरिसकेको छ । प्रहरीले नक्कली परीक्षार्थी , डिभाइस प्रयोग गर्ने परीक्षार्थी र तिनीहरुलाई प्रयोग गर्ने व्यक्तिहरु प्रहरीको नियन्त्रणमा आएको जनाएको हो ।
यसैबीच परीक्षामा सहभागी विद्यार्थीहरुको समूह तथा युवा चिकित्सकहरुको समूहले परीक्षा स्थगित गर्न, दोषीमाथि कारबाही गर्न तथा प्रवेश परीक्षा पुन लिन माग गरेका छन् ।
शनिबारको प्रवेश परीक्षामा अमर्यादित गतिविधि हुँदैछ भन्ने पूर्व सूचनाको आधारमा प्रहरीको केन्द्रय अनुसन्धान ब्युरो सीआइबी, अपराध अनुसन्धान महाशाखा, नेपाल मेडिकल काउन्सिलको सक्रियतामा विभिन्न परीक्षाकेन्द्रमा छापा मारिएको थियो ।
सम्पर्क इमेल : [email protected]