आर्थिक अभावले मिर्गौलापीडित बाबुछोराको उपचारमा समस्या


पर्वत, २३ भदौ । धन कमाउन विदेशिएका श्रीमान् र काखे छोरालाई एकैपटक मिर्गौला रोगले समातेपछि पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीकी सुकमाया दर्जी केही दिनयता पिरलोमा छन् ।

कमाएर सातजना परिवारको गर्जो टार्न तीन महिनाअघि साउदी गएकमा श्रीमान् नरबहादुर दर्जी त्यहाँ पुग्न नपाउँदै मिर्गौलामा खराबीदेखिएको खबर आयो ।

श्रीमान् बिछोडिएको केही दिनमै खेल्दाखेल्दै घरनजिकैको रूखबाट लडेका नौ वर्षीय छोरा शक्तिमानलाई पोखराको मणिपाल अस्पताल पु¥याएपछि एउटा मिर्गौलाले काम गर्न छोडेको चिकित्सकले सुनाए । त्यो खबरले सुकमाया छाँगाबाट खसेजस्तै भइन् ।

चिकित्सकले छोरालाई थप उपचारका लागि काठमाडौँ लैजान र त्यसका लागि करिव रु एकलाख खर्च हुने सुझाव दिए तर सुकमायाले आफूसंग काठमाडौँ जाने बस भाडासमेत नभएको गुनासो गरिन् । “कमाउन जानुभका श्रीमान् उतै अस्पतालमा हुनुहुन्छ”, उनले भनिन्, “यता छोराको यो हालत छ ।” नरबहादुरले गाउँबाट रु एक लाख ५० हजार ऋण खोजेर साउदी पुगेका थिए । साउदी पुगेपछि काम शुरु गर्न नपाउँदै अस्पताल भर्ना भएका उनलाई त्यहाँ रहेका नेपालीको सहयोगमा मिर्गौलाको डायलासिस भइरहेको छ । “यता ऋणको ब्याज बढेको बढै छ”, सुकमायाले गहभरि आँसु पार्दै भनिन्, “कमाइखाने यो ज्यान पनि यसैलाई बोकेर यताउता गर्नु परेपछि अब मेरो के हालत होला ।”

नरबहादुरलाई साउदीस्थित कम्पनीले उपचारका लागि नेपाल जान सुझाएको खबर आएको छ । “उता श्रीमान्लाई पनि कम्पनीले नेपाल फर्काउन लागेको छ”, उनले भनिन्, “अब छोराको उपचार गर्ने कि श्रीमान्को ?” ३५ वर्षको उमेरमै पाँच सन्तानकी आमा बनेकी सुकमायालाई सन्ततिलाई साँझ बिहानको गाँस जुटाउन उस्तै समस्या छ ।

सम्पत्तिका नाममा १० पाथी कोदो फल्ने बारी र एकतले खरको छाप्रोबाहेक अरू केही नहुँदा श्रीमान् विदेशिएपछि केटाकेटीलाई पेटभरि एकछाक खुवाउनसम्म नसकेको उनले बताइन् ।

सरकारी अस्पतालमा विपन्नका लागि उपचार कोषको रकम हुने भए पनि सुकमायालाई त्यसबारे जानकारी छैन । “गरिबको कार्ड भए उपचारमा पैसा लाग्दैन भन्ने त सुनेको हो”, उनले गुनासो गरिन्, “ हामीजस्तालाई कसले हेर्छ र ?” असार २९ गतेदेखि बिरामी परेका छोराको उपचारका लागि यताउता ऋण खोजेर सुकमायाले रु ३० हजार खर्च गरिसकेकी छन् ।

सुकमाया यतिबेला कसैको सहयोग पाउने आशमा छोरालाई काखी च्यापेर हारगुहार गरिरहेकी छन् । विभिन्न सङ्घसंस्थाले आफूजस्तै दुःखी र पीडितलाई सहयोग गर्छन् भन्ने सुनेको छु खै मैले कहीँबाट सहयोग पाउन सकिनँ सुकमायाले रुँदै भनिन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *