आइपीपीएनडब्लुको विश्व सम्मेलनमा भाग लिन आठ नेपाली चिकित्सक बेलायत जाँदै

काठमाडौँ, १६ भदौ । आणविक युद्ध रोकथामका लागि अन्तराष्ट्रिय चिकित्सकहरु अर्थात इन्टरनेशनल फिजिसियन्स फर द प्रिभेन्सन अफ न्युक्लियर वार (आईपीपीएनडव्लु)को विश्व सम्मेलनमा भाग लिन नेपालबाट आठ सदस्यीय चिकित्सकको टोली आज बेलायत प्रस्थान गर्दैछ ।

आगामी १९ देखि २१ भदौसम्म बेलायतको हेस्लिङटनमा चल्ने सम्मेलनमा भाग लिन आईपीपीएनडव्लुको नेपाल आवद्ध संस्था सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपाल ( फिजिसियन्स फर सोसियल रेस्पोन्सविलिटी नेपाल पीएसआरएन)को प्रतिनिधीमण्डल त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

टोलीको नेतृत्व भने आईपीपीएनडव्लुका दक्षिण एसियाली उपाध्यक्ष डा कृष्ण अधिकारीले गर्दैछन् । उनीसंगै पीएसआरएनका सल्लाहकारद्धय डा बंशिधर मिश्र, डा सोमनाथ अर्याल, महासचिव प्राडा गणेशबहादुर गुरुङ, पूर्व अध्यक्ष डा अशोकानन्द मिश्र, उपाध्यक्ष डा अरुणमणी दीक्षित, सदस्य डा गोपाल खनाल, पीएसआरएनका सम्पादक डा पियूष दाहाल सम्मेलनमा सहभागी हुँदैछन् ।

सम्मेलनमा अमेरिका अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, क्युवा, उत्तरकोरिया, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, भारत , जापान , मेक्सिको, नाइजेरिया, पाकिस्तान, प्यालेष्टाईन, रुस, तान्तिजिना, युगाण्डा लगायत ६६ देशका ४०० बढी प्रतिनिधीको सहभागिता हुने बताइएको छ ।
सम्मेलनमा आणविक युद्ध रोकथाम तथा त्यसले निम्त्याउने अल्पकालि तथा दीर्घकालीन मानविय असरका विषयमा कार्यपत्र प्रस्तुत गरी विश्वबाट आणविक हतियार निमिट्यान्न पार्नका लागि दवाव दिने कार्यक्रम छ ।

मेडिकल विद्यार्थीको समेत सहभागित हुने सो सम्मेलनमा अन्तरराट्रिय विद्यार्थी प्रतिनिधि नेपालबाट प्रतिनिधित्व गर्दछन् ।  शीत युद्धका बेला अमेरिका तथा सोभियत संघका विश्व प्रख्यात मुटु रोग विशेषज्ञहरुको पहलमा स्थापना भएको उक्त संस्थाले १९८५ को विश्व शान्ति नोबेल पुरस्कार पाएको थियो ।

सम्मेलनमा विश्व चिकित्सक संघका अध्यक्ष लगायत विश्वविख्यात बैज्ञानिकहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *