बाढी प्रभावित सप्तरीमा राष्ट्रिय चिकित्सक संघको नि:शुल्क स्वास्थ्य शिविर
सप्तरी १२ भदौ । बाढी प्रभावित प्रभावित क्षेत्र सप्तरीको पोर्ताहा १ स्थित शिशु कल्याण विद्यामन्दिरमा आइतबार बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ (एनडीए) र स्वतन्त्र विद्यार्थी युनियन महाराजगञ्ज मेडिकल क्याम्पसको सयुक्त आयोजनामा भएको उक्त एक दिने शिविरमा ७९३ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
एनडीएका तर्फबाट टोलीको नेतृत्व गरेका डा कृष्ण अधिकारीका अनुसार आइतबारको शिविरमा नौ जना चिकित्सक, एक मेडिकल विद्यार्थी र दुई जना नर्स सहित १२ जनाको टोली परिचालन भएको थियो । सो टोलीले स्वास्थ्य उपचार सहित ४ लाख ३२ हजार बढीको औषधि समेत निशुल्क वितरण गरेको थियो । डा अधिकारीले सवा लाख बढीको औषधि चन्दा उठाएर खरीद गरी वितरण गरेको बताए ।
परीक्षणका क्रममा अधिकांश बाढी प्रभावित व्यक्तिहरुमा छाला सम्वन्धी समस्या, भाइरल ज्वरो, पखला, जिउ टाउको तथा ढाड दुख्ने समस्या, दम तथा खोकीको समस्या भएको पाइएको डा अधिकारीले बताए ।
स्वास्थ्य शिविरमा डा अधिकारी सहित, डा रक्षा श्रेष्ठ, डा दीपक कुँवर, डा हिमा राई, डा प्रार्थना कोईराला, डा मिलन गैरे, डा विनोद खनाल, डा अनिल होना, डा कविता घिमिरे थिए । त्यस्तै सविना डल्लाकोटी, मन्जिता सापकोटा र मानवहादुर पौडेल पनि शिविर सञ्चालनमा खटिएका थिए ।
एक दिने शिविर सञ्चालन गरी एनडीएको टोली आजै राजधानी फर्कदै छ भने स्ववियूका डा गैरे र खनालको टोली रौतहटमा अनेरास्ववियूले सञ्चालन गरेको अर्को शिविरमा सहभागी हुन जान लागेको डा अधिकारीले बताए ।
सम्पर्क इमेल : [email protected]