अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको चमेनागृह सिलबन्दी
काठमाडौँ, २७ साउन । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महारागंजमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृहमा आज सिलबन्दी गरेको छ ।
अनुगमनका क्रममा व्यवसाय दर्तासम्बन्धी कुनै पनि कागजपत्र नभएको, चमेनागृह अत्यन्तै फोहोर रहेको र म्याद नाघेको खाद्य पदार्थसमेत फेला परेको विभागले जनाएको छ ।
चमेनागृहबाट म्याद नाघेको एक लिटरको २० पोका तेल, आठ पोका चाउमिन र केही पेय पदार्थसमेत नष्ट गरी आवश्यक कागजपत्र लिई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।
बैसठ्ठी किलो मासु नष्ट
अनुगमनका क्रममा ६२ किलो कुखुराको सडेको मासु नष्ट गरिएको छ । गौरीघाटमा रहेका न्यु काभ्रेली मिट सपबाट २४ किलो, काभ्रे सप्लायर्स एण्ड कोल्ड स्टोरबाट २१ किलो र दोस्ती कोल्ड स्टोरबाट १७ किलो सडेको कुखुराको मासु नष्ट गरिएको हो ।
तीन वटै पसललाई मूल्यसूची दैनिक अद्यावधिक गर्न, नापतौल प्रमाणीकरण गर्न, व्यवसाय र प्यान दर्ता तथा बधस्थलको व्यवस्थापन गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
अनुगमन टोलीले डिल्लीबजारस्थित दिया एण्ड प्रिया फार्मेसी र विनय मेडिकल हल तथा मैतीदेवीस्थित एक्युरेन्सी मेडिकल हललाई २४ घण्टाभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । रासस
सम्पर्क इमेल : [email protected]