यथास्थितिमा सरकारसंग बार्तामा नबस्ने डा. केसी पक्षको निर्णय
काठमाडौँ, १८ साउन । सरकारसंग पाँच चरणको बार्तामा बसिसकेको डा गोविन्द केसी पक्षले यथास्थितिमा बार्तामा नबस्ने बताएको छ । सरकारले माग सम्वोधनको मुर्त चित्र नल्याएको भन्दै डा केसी पक्षले बार्तामा नबस्ने बताएको हो ।
आज अपरान्ह विज्ञप्ती जारी गर्दै डा केसी पक्षको बार्ता टोलीले ठोउ उपलव्धी नहुने बार्तामा बस्नुको औचित्य नरहेको भन्दै बार्तामा बस्न इन्कार गरेको हो । सरकारी पक्षले आज चार बजेका लागि बार्तामा बोलाएको थियो ।
शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले चार बजेका बार्तामा बोलाएको तर केसी पक्ष नआएको बताए । ‘हामीले डा वाइपी सिंहलाई फोन गरेका थियौँ उहाँले नआउने भन्नुभयो,’ सरकारी टोली संयोजक श्रेष्ठले भने ।
यता डा केसी पक्षले भने संसदीय समितिमा बिचाराधीन विधेयकमा तीब्र चलखेल भएको भन्दै आपत्ती प्रकट गरेको छ । उसले आगामी शनिबार माइतीघरमा जम्मा भएर दवाव मुलक प्रदर्शन गर्ने निर्णय भएको समेत उल्लेख गरेको छ ।
चिकित्सक संघसंग बार्ता
सरकारले डा केसी पक्ष बार्तामा नआएपछि नेपाल चिकित्सक संघका प्रतिनिधीसंग बार्ता गरेको छ । चिकित्सक संघका प्रतिनिधीलाई शिक्षा मन्त्रालयमा बोलाएर सरकारी टोलीले बार्ता गरेको हो ।
‘हामीले चिकित्सक संघ संगको बार्ताको अवस्था, डा केसीको आन्दोलन, चिकित्सा सेवा र चिकित्सकहरुको धारणाका बारेमा छलफल गरेको हो । हामीले उहाँहरुको धारणा खोज्यौँ,’ संयोजक श्रेष्ठले भने ।
यता चिकित्सक संघका महासचिव डा लोचन कार्कीले डा केसीले उठाएका मागका विषयमा कसरी सम्वोधन गर्न सकिन्छ भनेर छलफल भएको बताए । ‘खासमा सरकारी टोलीले हामीसंग डा केसीको मागका बारेमा के कसरी सम्वोधन गर्न सकिन्छ भनेर सल्लाह लिन खोजेको रहेछ । हामीले केही लचकता अपनाएर पनि सम्झौताको कार्यान्वनयमा गई हाल्नुपर्छ र अनसन तोडाउनुपर्छ भन्यौँ ‘ कार्कीले भने ।
सम्पर्क इमेल : [email protected]