चिकित्सा शिक्षा विधेयकको बारेमा विशेष छलफल हुने


काठमाडौँ, १७ साउन । डा गोविन्द केसीले उठाउँदै आएको चिकित्सा शिक्षा विधेयकबारे आज विशेष छलफल हुने भएको छ । हिजो बसेको बार्तामा विधेयक बारे सम्वन्धित मन्त्री र संसदीय समितिबीच विशेष छलफल गर्ने समझदारी भएको हो ।

बार्तामा सहभागी उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले डा केसीको प्रमुख मागको विषय बनेको चिकित्सा शिक्षा विधेयकका सम्वन्धमा बृहत् छलफलका लागि स्वास्थ्यमन्त्री र संसदीय समितिका सभापतिसँग आजका लागि बैठक आयोजना गर्ने समझदारी भएको बताए ।

सो छलफलका लागि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, व्यवस्थापिका–संसद्, महिला बालबालिका समाजकल्या तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जुकुमारी झा, तत्कालीन माथेमा आयोगको प्रतिवेदन तयारीमा मुख्य भूमिका खेल्ने पदाधिकारीसहितको बैठक बस्ने शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिइन ।

उता केसी पक्षका वार्ता टोली सदस्य डा अभिषेकराज सिंहले सोमबारको वार्तामा मुख्य विषय चिकित्सा शिक्षा विधेयकको बारेमा छलफल नभएकाले मंगलबारका लागि वार्ता स्थगन गरिएको जानकारी दिए ।

चिकित्सा शिक्षा विधेयक पारितलगायत चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी यही साउन ९ गतेदेखि शिक्षण अस्पताल महाराजगन्जमा ११ औँ आमरण अनशनमा छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *