एक लाख युरोको ‘अवार्ड’बाट विभिन्न परियोजना बनाउदैँ नर्सिङ संघ
काठमाडौँ, १६ साउन । नेपाल नर्सिङ संघले दुई महिना अघि जितेको एक लाख युरो (करीब १ करोड १६ लाख रुपैयाँ) रासीको अन्तराष्ट्रिय अवार्डको रकमबाट विभिन्न परियोजना अघि बढाउने भएको छ ।
जोखिम न्युनिकरण परियोजना अन्तरगर्त जितेको रिस्क रिडक्सन अवार्डबाट संघले नर्सहरुलाई इनोभेटिभ टेक्नोलोजी मार्फत विपतका बेला कसरी क्रियाशिल हुने भन्ने बारेमा सिप सिकाउने तयारी गरेको छ । संंघले केही दिन यता सोही विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसंग परामर्श समेत गरेको छ ।
एसोशिएसनकी अध्यक्ष प्राध्यापक ताराले यो प्रोजेक्टबाट नर्सहरुलाई प्राकृतिक प्रकोप तथा अन्य जोखिम कसरी न्युनिकरण गर्ने भन्ने तालिम दिने बताइन । उनले स्कुलका विद्यार्थी तथा शिक्षकहरु मार्फत पनि यस्ता विपतबारे जानकारी दिने कार्यक्रम अघि बढाउने बताइन ।
‘दुई वर्ष अघि विनासकारी भूकम्प जाँदा नेपालका नर्सहरुले गरेको कार्यलाई प्रसंशा गर्दै यो अवार्ड दिइएको हो । त्यतिवेला नर्सहरु र नर्सिङ एसोशिएसनले जुन सहासका साथ सेवामा खटियो त्यसैको सम्मान हो,’ प्राध्यापक पोखरेलले भनिन् ।
युएन आफिस फर डिजास्टर रिस्क रिडक्सन (युएनआईएसडीआर) ले दिएको रिस्क रिडक्सन अवार्ड लिन गत २४ मे मा संघकी उपाध्यक्ष अप्सरा पाण्डे मेक्सिको पुगेकी थिइन ।
यसैबीच नेपाल नर्सिङ संघले दुई महिना अघि प्राप्त अवार्डको औपचारिक उत्सव मनाएको छ । सो अवसरमा बधाई दिन पुगेका पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले नेपालको स्वास्थ्य क्षेत्रमा नर्सहरुको भूमिका उल्लेखनीय रहेको बताए ।
उनले भूकम्पका बेला नर्सहरुले गरेको कामको अन्तराष्ट्रिय जगतले मूल्यांकन गरेको बताउदै सरकारलाई सो कुरा सिक्न आग्रह गरे । नेपाल सरकारले नर्सहरुलाई उचित सम्मान नदिएको उनको गुनासो थियो ।
कार्यक्रममा बधाई दिन पुगेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले नेपाली नर्सहरु विश्वमै उत्कृष्ठ रहेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले नर्सहरुको पाठ्यक्रममा समयानुकुल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल नर्सिङ परिषदका अध्यक्ष प्राध्यापक चन्द्रकला शर्मा, संघका अध्यक्ष प्राध्यापक पोखरेल लगायतले बोलेका थिए ।
सम्पर्क इमेल : [email protected]