आमाको दुधलाई प्रतिस्थापन गर्न लगाउने स्वास्थ्यकर्मी एक महिना थुनिने

काठमाडौँ, १६ साउन । जन्मेको छ महिनासम्म शिशुको आहार आमाको दुध बाहेक केही हुन सक्दैन तर कतिपयले नवजात शिशुलाई दुधको सट्टा ल्याक्टोजिनजस्ता पदार्थहरु खुवाउने गर्दछन् ।

ती मध्ये कतिपयले स्वास्थ्यकर्मीको सल्लाहमा र कतिपयले उत्पादकको विज्ञापनको आधारमा त्यस्ता बस्तु दुधको सट्टा प्रयोग गरेको बताउँछन् । तर यस्तो कार्य गर्नु शिशुको लागि त हानीकारक हो नै कानूनी रुपमा समेत दण्डनीय छ ।

सरकारले पच्चीस बर्ष अघि नै आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तुको अनुचित प्रयोग नहोस भनेरै यस्तो कानून बनाएको छ । जसमा आमाको दुधको सट्टा ल्याक्टोजिन जस्ता बस्तुहरुको प्रयोग गर्न सकिन्छ भनेर अनुचित अवस्थामा सिफारिस गरेको खण्डमा स्वास्थ्यकर्मीलाई एक महिना जेल वा एक हजार रुपैयाँ जरिमाना वा दुवै हुने व्यवस्था गरेको छ । त्यस्तै उत्पादकहरुले त्यसरी भनेको खण्डमा तीन महिना जेल वा १० हजार रुपैयाँ वा दुबै हुने व्यवस्था गरेको छ ।

विश्व स्तनपान दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाद्धारा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा राजेन्द्र पन्त भन्छन्, ‘अहिले पनि कतिपयले स्तनपानको महत्व नबुझ्दा आमाको दुधको सट्टा अन्य बस्तु प्रयोग गरेका हुन्छन् । उनीहरुले बच्चाको स्वास्थ्यमा त खेलवाड गरेकै छन् । कानूनी रुपमा समेत दण्डनीय काम गरेका छन् ।’

परिवार स्वास्थ्य महाशाखा अन्तरगतका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले शिशुको लागि चाहिने आवश्यक भिटामिन, मिनरल्स सबै दुधबाट पाइने भएकोले कम्तीमा ६ महिनासम्म अन्य कुनै चिज नखुवाई आमाको दुध मात्रै खुवाउनुपर्ने बताए ।

हेलेन केलर इन्टरनेशनलका कार्यक्रम अधिकृत अतुल उपाध्यायले जन्मे देखि ६ महिना सम्म एक्सक्लुसिभ ब्रेसफिडिङ गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले २५ बर्ष अघि नै कानून बनाएपनि त्यसको कार्यान्वयन हुन नसकेको बताए । उनले आमाको दुधलाई प्रतिस्थापन गर्ने पदार्थको उत्पादन र विक्री बढिरहेको भन्दै यसको न्युनिकरण चुनौतीपूर्ण रहेको बताए ।

उनले सन् २०१४ मा मात्रै विश्व बजारमा ४५ अर्ब डलरको दुधलाई प्रतिस्थापन गर्ने बस्तु विक्री भएको र यहि अवस्था रहेमा सन २०१९ सम्ममा त्यो दर बढेर ७२ अर्व पुग्ने आकलन भएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *