खोप सम्वन्धी दुई दिने राष्ट्रिय सम्मेलन राजधानीमा सुरु हुँदै
काठमाडौँ, १९ असार । खोप सम्वन्धी दुई दिने राष्ट्रिय सम्मेलन आजबाट राजधानीमा सुरु हुँदैछ । एक बर्ष मुनिका बालबालिकाको खोप कभरेजदर घटदै गइरहेको बेला सरकारले राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
स्वास्थ्य सचिव डा. किरण रेग्मीले उदघाटन गर्ने सो सम्मेलन आज र भोली चल्ने छ । सम्मेलनमा मुख्यरुपमा खोप कभरेज दरमा कमी हुनुको कारण र खोपलाई प्रभावकारी रुपमा विस्तार गर्ने उपायका बारेमा छलफल हुने बताइएको छ । सम्मेलनमा भाग लिन ७५ वटै जिल्लाबाट खोप अधिकृत, खोप निरीक्षक, खोप सुपरभाइजर, कोल्डचेन सहायक लगायतका प्रतिनिधीहरु काठमाडौँ आइसकेका छन् ।
स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखा अन्तर्गतका खोप शाखा प्रमुख कृष्णबहादुर चन्दले सम्मेलनमा खोपको कभरेजदर बढी भएका जिल्ला र कम भएका जिल्लाका प्रस्तुति रहने बताए । त्यसबाहेक विज्ञ समूह, संस्था र सरकारका तर्फबाट समेत प्रस्तुति करण रहने जानकारी दिए ।
सरकारले पछिल्लो समय धमाधम पूर्ण खोप जिल्ला घोषणा गरिरहेका बेला कभरेज दरभने घटदै जान थालेको पाइएको थियो । स्वास्थ्य सेवा विभागले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार जापानीज इन्सेफलाइटिस बाहेकका अरु खोपको कभरेज दरमा गिरावट आएको हो ।
विभागले निकालेको रिपोर्टमा गतवर्ष अर्थात आर्थिक बर्ष २०७२ /०७३ मा बीसीजी खोपको कभरेज दर ८७ प्रतिशतमा झरेको छ । जबकी त्यो भन्दा अघिल्लो बर्ष सो खोपको कभरेज दर ९४ प्रतिशत थियो भने त्यो भन्दा अझ अघिल्लो बर्ष ९९ मा पुगेको थियो ।
त्यस्तै डीपीटी हेप बी को कभरेज दर तीन बर्षमा १० प्रतिशतले घटेको छ । आर्थिक बर्ष २०७०/ ७१मा ९२ प्रतिशत पुगेकोमा आर्थिक बर्ष ०७२/०७३ मा घटेर ८२ प्रतिशतमा झरेको छ । अर्को खोप ओपिभीको झन त्यो भन्दा पनि तल पुगेको छ । तीन वर्ष अघि ९२ प्रतिशत कभरेज भएकोमा तीन बर्ष पछि ७९ प्रतिशतमा झरेको छ ।
त्यस्तै दादुरा तथा रुवेला खोपको कभरेज दर पनि ११ प्रतिशतले घटेको छ । आर्थिक बर्ष २०७०/ ०७१मा ८८ प्रतिशत कभरेज भएको यो खोप आर्थिक बर्ष २०७२/ ०७३मा पुग्दा घटेर ७७ मा झरेको छ ।
सरकारले धमाधम पूर्णखोप जिल्ला घोषणा गरिरहेका बेला तीन वर्ष अघि र अहिलेको पूर्ण खोप कभरेज दरमा समेत कमी देखिएको छ । अघिल्लो बर्ष ७३ प्रतिशतले पूर्ण खोप पाएको देखिएकोमा पछिल्लो बर्ष ६६ प्रतिशतले मात्रै यो अवस्थामा पुगको देखिन्छ ।
प्रतिवेदनमा १२ देखि २३ महिनाका बालबालिकालाई दिइने जापानीज इन्सेफलाइटिसको कभरेज दर भने तीन बर्षमा २० प्रतिशतले बढेको देखिएको छ । आर्थिक बर्ष २०७०/०७१मा ४३ प्रतिशत कभरेज भएकोमा गतवर्ष ६३ प्रतिशतमा पुगेको छ ।
सम्पर्क इमेल : [email protected]