रक्तदान किन गर्ने ? कहिले गर्ने ?
काठमाडौँ, ३१ जेठ । आव विश्व रक्तदाता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइदैछ।
रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक बर्ष १४ जुनका दिन यो दिवस मनाउने गरिन्छ।
मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो।
के हो रगत ?
शरीरमा रहेको रातो तरल पदार्थ हो रगत। यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ। यसले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ।
यसले कार्वनडाइअक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ।
मानव शरीरमा औसत ५.५ लिटर रगत रहेको हुन्छ। मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ। रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ०.७ प्रतिशत रहेको हुन्छ।
रक्तदान किन गर्ने र कहिले गर्ने ?
मानिस जिवित रहनका लागि नभई नहुने तत्व हो रगत । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ। सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकहरु बताउँछन्।
एउटा स्वस्थ मानिसले ९० दिनको अत्तरालमा रक्तदान गर्न मिल्छ तर अहिले पनि कतिपयमा रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रम छ ।
रक्तदान गर्ने मानिसको तौल ४५ केजिभन्दा माथी हुनु पर्छ। त्यसैगरी रक्तदान गर्ने मानिसको हेमोग्लोविन १२ ग्राम भन्दा माथी हुनु पर्दछ। यतिमात्र नभएर रक्तदान गर्ने व्यक्तिहरुमा दीर्घ रोग तथा संक्रामक रोग भएको हुनु हुँदैन।
महिलाहरुले भने महिनावारी भएको अवस्थामा, बच्चा पेटमा भएको अवस्थामा र बच्चाले दुध खाने अवस्थामा बाहेक बर्षको दुई पटक रक्तदान गर्न राम्रो मानिन्छ।
सम्पर्क इमेल : [email protected]