मानवअंग प्रत्यारोपण केन्द्रमा तीन सय बढीको मिर्गौला प्रत्यारोपण
भक्तपुर ३० जेठ । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रले सेवा सुरु गरेको करीब साढे चार बर्षको अवधीमा ३०२ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । यहि अवधीमा ६९ हजार २४४ जनाको निशुल्क हेमोडायलासि र २२ हजार ४ सय जनाको सशुल्क डायलासिस गरेको छ ।
भएका कामहरुको जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले ३ सय जनाको मिर्गौला प्रत्यारोपण जीवीत व्यक्तिबाट दान लिएर र दुई जनाको प्रत्यारोपण मस्तिस्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला झिकेर गरिएको बताए ।
‘सुरुमा त यो अस्पताल मिर्गौलाको डायालासिस गर्ने र केही पछि प्रत्यारोपण गर्ने भनेर मात्रै चिनियो तर हामीले यहाँ त्यो बाहेक अरु धेरै काम गरेका छौँ’ डा. श्रेष्ठले भने । उनले केन्द्रमा केही महिना अघि कलेजो प्रत्यारोपण भएको र मुटु प्रत्यारोपण गर्ने तयारी समेत विस्तारै अघि बढेको बताए ।
२०६९ माघ २६ देखी सेवा सुरु भएको अस्पतालमा पहिलो आर्थिक बर्ष १३ जनाको प्रत्यारोण भएको थियो । सोही बर्ष केन्द्रले ३ हजार तीन सय बढीको डायलासिस गरेको थियो । त्यस यताका बर्षहरुमा भने तिब्रगतिमा सेवाग्राहीको सूची बढेको छ । विरामीको चाप अनुसार अस्पतालको भौतिक पूर्वाधार पर्याप्त नहुँदा चाहेको सेवा प्रदान गर्न भने हम्मे हम्मे परेको निर्देशक डा श्रेष्ठले बताए ।
अन्य रोगको पनि उपचार
केन्द्रले सरकारी अस्पतालमै पहिलो पटक इन्डोस्कोपी अल्ट्रासाउण्ड सेवा शुरु गरेको छ । यो सेवा लिनेको संख्या २५० पुगेको केन्द्रले जनाएको छ । त्यस्तै कोलोनोस्कोपी, इआरसीपी तथा पेट तथा कलेजो रोगसम्वन्धी विशेष सल्यक्रिया सेवा पनि प्रदान भईरहेको केन्द्रले जनाएको छ ।
केन्द्रका निर्देशक डा श्रेष्ठले भक्तपुृर जिल्लामै पहिलो पटक ओपन हार्ट सर्जरी( मुटुको भल्भ फेर्ने सीएबीजी र फोक्सोको शल्यक्रिया लोबेक्टोमी सेवा सुरु गरी निरन्तरता पाइरहेको बताए । उनले निकट भविस्यमै अत्याधुनिक क्याथल्याव र २५६ स्लाइस सीसीको सिटिस्क्यान सेवाको शुरुवात गर्ने समेत जानकारी दिए ।
निर्देशक डा श्रेष्ठले केन्द्रमा दैनिक ४० वटा हेमोडायलासिश मेसिनबाट ४ सिफ्ट डायलासिस सेवा र २४ सै घण्टा इमरजेन्सी सेवा भइरहेको बताए ।
सम्पर्क इमेल : [email protected]