उपचारमा एकरुपता ल्याउन सरकारले ल्यायो क्यान्सर प्रोटोकल
काठमाडौँ, २६ वैशाख । सरकारले क्यान्सर रोगको उपचारमा एकरुपता ल्याउन ‘क्यान्सर प्रोटोकल’ बनाएको छ । उक्त प्रोटोकल सोमबारबाटै लागू भएको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा व्यवस्थापन महाशाखाका निर्देशक डा विकास देवकोटाले उक्त प्रोटोकल स्वास्थ्यमन्त्री गगन थापालाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा मन्त्री थापाले उक्त प्रोटोकल सोमबारबाटै लागूहुने जानकारी दिँदै अन्य ११ प्रकारका कडा रोगको पनि उपचार प्रोटोकल बनाउन स्वास्थ्य सेवा विभागलाई निर्देशन दिए ।
“सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरुपता ल्याउन क्यान्सर प्रोटोकल अति आवश्यक थियो, त्यसैले आजैबाट कडा रोगको उपचारमा सूचीकृत भएका सबै अस्पतालमा यो प्रोेटोकल लागू हुनेछ”सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री थापाले भने ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको नेतृत्वमा नेपालका क्यान्सर विशेषज्ञ सहितको टोलीले आठ महिनाको छलफल र अध्ययनपछि यो प्रोटोकल तयार पारिएको हो ।
मन्त्री थापाले नसर्ने रोगका कारण हुने मृत्युदर बढ्दै गएकाले उपचारमा सहजता र एकरुपता ल्याउन प्रोटोकल आवश्यक भएको बताए ।
“सरकारले क्यान्सर लगायतका १२ कडा रोगलाई रु एक लाख उपलब्ध गराउँदै आएको छ । क्यान्सरका बिरामीलाई पनि उक्त रकम दिए पनि उपचारमा सहजता आउन सकेको थिएन । कतिपय बिरामीले आर्थिक भार बढी भएकाले उपचार गराएका छैनन् । प्रोटोकलले यस्ता समस्या हल गर्नेछ । जसले गुणस्तरीय उपचार सेवा प्रदान गर्नुका साथै समयमै रोगको पहिचान गर्न पनि मद्दत पुग्नेछ ।”
प्रोटोकल नहुँदा फरक फरक अस्पतालमा चिकित्सकले फरक उपचार पद्धति, फरक औषधि, फरक खर्च हुनेहँुदा विपन्नका लागि अव्यवस्थित भएको थियो, प्रोटोकलले सबै विषयमा एकरुपता ल्याई देशको सबै ठाउँमा उपचारमा एकरुपता ल्याउन सहयोग पुग्ने मन्त्री थापाको दावी छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले नेपालमा कडा रोगको उत्कृष्ट प्रोटोकल नभएकाले गुणस्तरीय उपचारमा समस्या आइरहेकाले यसको आवश्यकता रहेको उल्लेख गर्दै प्रोटोकलको प्रभावकारी कार्यान्वयनका लागि क्यान्सर व्यवस्थापन नीति अत्यन्त जरुरी भएको बताए ।
व्यवस्थापन महाशाखाका निर्देशक डा विकास देवकोटाले प्रोटोकलको प्रभावकारी कार्यान्वयनमा जोड दिइने प्रतिवद्धता व्यक्त गरे ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा नसर्ने रोगबाट हुने मृत्युमध्ये ६५ प्रतिशत मृत्यु क्यान्सरका कारण हुने गरेको छ ।
प्रोटोकल लागू भएसँगै उपचारमा एकरुपता ल्याउने र कतिसम्म उपचार निःशुल्क गर्ने, कसरी गर्ने, के के खर्च बिरामी आफँैले गर्नुपर्छ भन्ने निर्देश गर्ने भएकाले सबै सरकारी र निजी अस्पतालले यसको पालना गर्नुपर्नेमा जोड दिएको छ । रासस
सम्पर्क इमेल : [email protected]