सुदूरपश्चिममा साढे ९ हजार स्कुले बालबालिकाको मुटु परीक्षण

काठमाडौँ, २३ बैशाख ।  नेपाल हार्ट फाउन्डेशनको टोलीले सुदूरपश्चिममा पुगेर साढे नौँ हजार स्कुले बालबालिकाको निशुल्क मुटु परीक्षण गरेको छ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा गएको ५ चिकित्सक सहित ८ जना स्वास्थ्यकर्मीको टोलीले कैलाली र डडेल्धुरामा पुगी बालबालिकाको मुटु परीक्षण गरेको हो ।

टोलीले कैलालीका ११ वटा स्कुलका ६ हजार ५ सय जना र डडेल्धुराका १४ वटा स्कुलका ३ हजार बालबालिकाको परीक्षण गरेको जनाएको छ । सो क्रममा ४३ जना मुटुरोग लागेको बालबालिका भेटिएको टोलीको नेतृत्व गरेका डा. रेग्मीले बताए ।

‘४३ मध्ये २१ जनालाई बाथमुटुरोग भएको पाइयो, बाँकी २२ जनालाई जन्मजात मुटुरोग पाईयो । उनीहरुलाई थप उपचारका लागि राजधानी ल्याउन भनेका छौँ । सरकारले दिने सुविधा बाहेकका अन्य खर्च हामीले बेहोर्ने छौँ ,’  डा. रेग्मीले भने ।

उनले गर्मी ठाँउमा बाथमुटुरोगको समस्या बढी र चिसो ठाँउमा जन्मजात मुटुृरोगको समस्या बढी भएको पाइएको बताए । ‘धनगडीमा साढे ६ हजार बालबालिकाको परीक्षण गर्दा १८ जनामा बाथमुटुरोग भएको पाईयो जवकी डडेल्धुरामा ३ जना मात्रै । त्यस्तै जन्मजात मुटुरोग डडेल्धुरामा तीन हजारको परीक्षण गर्दा ११ जनामा देखियो भने धनगडीमा साढे छ हजारको गर्दा पनि ११ जना मात्रै फेला परे,’ डा. रेग्मीले भने ।

परीक्षणको क्रममा ६ जना डडेल्धुरा र ३ जना धनगडी गरी नौ जनालाई तत्काल उपचार गर्नुपर्ने देखिएको थियो । डा. रेग्मीले उपचार गर्नुपर्ने बालबालिकाका लागि चाहिने खर्च अस्टेलियन एड र इडवार्डस एडले बेहोर्ने जानकारी दिए । शिविर गत बुधबार देखि शुक्रबारसम्म चलेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *