ज्वानोको प्रयोग यसरी गर्न सकिन्छ औषधोपचारमा
ज्वानो भान्सामा प्रयोग हुने खाद्य पदार्थ हो । विशेषगरी, महिला गर्भवती भएको समयमा यसको रस खुवाउँदा तागत दिन्छ भन्ने विश्वास हाम्रो समाजमा रहेको छ । साथै, रुघाखोकी लाग्दा पनि घ्युसँग भुटेर झोल बनाई खाने प्रचलन छ ।
त्यति मात्र नभएर यो तरकारी तथा अचारमा स्वाद बढाउन प्रयोग गरिने वनस्पति हो । थोरै मात्रामा खाँदा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरू यसको झोल खाने गर्दछन् ।
साथै, पेटमा ग्यास भरिएको समयमा पनि सेवन गर्दा कम हुने विश्वास गरिन्छ । त्यति मात्र नभएर आयुर्वेद उपचार पद्धतिमा यसको महत्त्व धेरै रहेको छ ।
यसरी गर्न सकिन्छ औषधोपचारमा प्रयोग
रुघा लागेमा, सर्दी भएमा : ज्वानो र बेसार मिसाएर दिनको एक चम्चा तीनपल्ट एक गिलास पानीमा पकाएर खाएमा चाँडै आराम हुन्छ ।
कम्मर दुख्ने रोगमा : एक पाउ ज्वानोको धुलो एक पाउ सख्खरमा बराबर राम्ररी मिसाएर बिहान–बेलुका तातो पानीसँग एक–एक चम्चा सेवन गर्नाले दुई हप्तामै ठीक हुँदै जान्छ ।
घाँटी बसेमा : एक गिलास पानीमा ज्वानो र एक चम्चा सख्खर मिसाएर राम्ररी उमालेर पिउनाले घाँटी बसेको खुल्दै जान्छ ।
शरीर दुख्ने रोगमा : भुटेको ज्वानो र सख्खर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान–बेलुका मिश्रीपानीसँग नियमित रूपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।
नाथ्री फुटेमा : नीमको पात र ज्वानो पानीमा पिनेर दुवै कन्चटमा लगाउनाले रोग निको भएर जान्छ ।
सम्पर्क इमेल : [email protected]