रेबिजबाट दोलखामा चार जनाको मृत्यु
दोलखा, ४ पुस – पछिल्ला दुई दिनमा रेबिजबाट दोलखामा दुईजनाको मृत्यु भएको छ । योसँगै जिल्लामा रेबिजबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । ओराङमा दुई, लामाबगरमा एक र सुनखानी गाविसमा एक गरी चारजनाको मृत्यु भएको हो ।
घरपालुवा कुकुरको टोकाइबाटै रेबिज फैलियो
आइतबार लामाबगर–७ ठाडीकी १९ वर्षीया शारदा तामाङको रेबिजका कारण मृत्यु भएको छ । उनलाई उपचारका लागि काठमाडौंस्थित टेकु अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा शारदाको खरिढुंगामा दिउँसो करिब १ बजे मृत्यु भएको हो । गत ८ भदौमा शारदालाई घरपालुवा कुकुरले टोकेको थियो । तर, उनी उपचार नगराई बसेकी थिइन् ।
कुकुरजस्तै कराउने, बहुलाउने र अन्य मानिसलाई टोक्न थालेपछि उनलाई उपचारका लागि शनिबार काठमाडौं लगिएको थियो । शारदाको नाबालिका छोरीमा समेत रेबिजको संक्रमण भएको हुन सक्ने स्थानीयको आशंका छ ।
ठाडी गाउँमा यसअघि पनि दुईजनालाई बहुला कुकुरले टोकेको र उनीहरूको अहिलेसम्म उपचार हुन नसकेको स्थानीय केदार तामाङले जानकारी दिए । रेबिजकै कारण शनिबार लामाबगरसँगै जोडिएको ओराङ–१ का १८ वर्षीय युवराज ठकुरीको पनि मृत्यु भएको छ । टेकु अस्पताल पु¥याइएका ठकुरीको उपचारकै क्रममा मृत्यु भएको हो । गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा अध्ययनरत उनी पाँच दिनअघि मात्रै घर गएका थिए ।
घर पुगेपछि बहुलाउने, टोक्ने र चिथोर्नेजस्ता व्यवहार देखाएपछि उनलाई रेबिजको आशंकामा उपचारका लागि काठमाडौं लगिएको थियो । यस्तै, गत ७ मंसिरमा ओराङ गाविसका २० वर्षीय सिमहादुर तामाङको रेबिजका कारण मृत्यु भएको थियो । उपचारका लागि राजधानी लैजाने क्रममा बीचबाटोमै उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।
वैशाख पहिलो साता सुनखानी गाविस–३ मलेपुका ३५ वर्षीय लालबहादुर माझीको पनि रेबिजकै कारण मृत्यु भएको थियो । शारदासँगै रेबिजले जिल्लामा चारजनाको मृत्यु भइसकेको छ ।
वैशाखदेखि रेबिजको प्रकोप
दोलखामा वैशाखयता विभिन्न स्थानमा बहुला कुकुरको बिगबिगी बढेको छ । वैशाख पहिलो साता जिल्लाको सुनखानी गाविसको मलेपुमा रेबिज आतंक फैलिएको थियो । रेबिज संक्रमित कुकुरले टोकेपछि स्थानीय लालबहादुर माझीको उपचारकै क्रममा मृत्यु भएको थियो । सुनखानीबाट लामिडाँडा, सिँगटी बजार हुँदै अहिले ओराङ र लामाबगर गाविसमा रेबिजको प्रकोप फैलिएको छ ।
चार महिनादेखि ती स्थानमा बहुला कुकुरको आतंक छ । लामाबगर गाविस–७ र ओराङ गाविस–८ मा २९ भदौमा तीनजनालाई बहुला कुकुरले टोकेको थियो । ओराङकी ६६ वर्षीय पम्फु तामाङ र सात वर्षीया बालिका मनीषा तामाङ तथा लामाबगर–७ की ६३ वर्षीया कमिनी तामाङलाई एउटै कुकुरले टोकेको थियो ।
त्यसको केही दिनअघि मात्रै बहुला कुकुरले लामाबगरकै ६३ वर्षीय सनमान तामाङलाई पनि टोकेको थियो । कुकुरले टोकेकामध्ये धेरैजसोले रेबिजविरुद्धको भ्याक्सिन नलगाएको स्थानीयको भनाइ छ । सदरमुकाम चरिकोटमा ८ भदौमा एउटा बहुला कुकुरले दर्जन बढी पैदल यात्री र स्कुले विद्यार्थीलाइ टोकेको थियो ।
गाउँभरि रेबिजको त्रास
रेबिजले धमाधम मानिसको मृत्यु हुन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा आतंकित बन्न पुगेका छन् । त्रास बढेपछि लामाबगर–७ ठाडी र ओराङ–१ यार्सा गाउँका तीन दर्जनभन्दा बढी मानिस रेबिजविरुद्धको भ्याक्सिनको खोजी गर्दै आइतबार सदरमुकाम चरिकोट आएका छन् ।
ओराङदेखि आएका आकाश ठकुरी र रविकुमार ठकुरीले रेबिज संक्रमित युवकको मृत्यु हुनुअघि उनले चिथोर्दा शरीरमा घाउ भएर रगत आएको र सोही कारण उपचारको खोजी गर्दै सदरमुकाम आएको बताए ।आएकामध्ये १५ जनालाई भ्याक्सिन दिइएको चरिकोट अस्पतालका मेडिकल डाइरेक्टर डा। विनोद दंगालले जानकारी दिए ।
कसरी सर्छ रेबिज ?
रेबिज संक्रमित बहुला कुकुर, स्याल, बिरालोलगायतका जनावरले टोक्दा वा चिथोर्दा मानिसमा रेबिजको संक्रमण हुने स्वास्थ्यकर्मी बताउँछन् । रेबिज लागेको बिरामीसँगको संसर्ग, ¥याल वा रगतको माध्यमबाट संक्रमण हुन सक्छ । मानिसमा रेबिजको संक्रमण बहुला कुकुरले टोकेको एकदेखि तीन महिनाको अवधिमा देखिन्छ ।
रोगले च्याप्दै गएपछि संक्रमित मानिसमा बहुलाउने, पानीदेखि डराउने, टोक्ने, चिथोर्ने, कुकुरजस्तै कराउनेलगायतका लक्षण देखा पर्दछन् । बहुला कुकुर वा जंगली जनावरले टोकेमा टोकेको २४ घन्टाभित्र पहिलो, तीन दिनमा दोस्रो, सात दिनमा तेस्रो, १४ दिनमा चौथो र २८ दिनमा पाँचौँपटक रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्दछ ।
- आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सम्पर्क इमेल : [email protected]