गुणस्तरीय आयुर्वेदिक औषधि र धन्वन्तरि जयन्तीको महत्व
आज कात्तिक १२ गते कृष्ण त्रयोदशीका दिन ‘दिगो स्वास्थ्यको आधार, आयुर्वेद उपचार’ भन्ने नाराका साथ धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाइदै छ ।
आयुर्वेदका प्रर्वतक धन्वन्तरिका बारेमा विभिन्न धारणाहरु छन । कसैले समुन्द्र मन्थन गर्दा निस्किएका विष्णु भगावनको अवतार, कसैले धन्वका पुत्र काशीराज दिवोदास नै धन्वन्तरि हुन् भन्दछन् ।
जसरी व्याख्या गरे पनि आयुर्वेदका प्रेमीहरु धन्वन्तरिलाई “स्वस्थ व्याक्तिलाई स्वस्थ राख्न र रोगी व्याक्तिलाई रोग निराकरण गर्ने क्रममा सधै सम्झिने गर्छन ।
सिंहदरबार वैद्यखाना, नरदेवीस्थित आयुर्वेद चिकित्सालय र आयुर्वेद चिकित्सक संघ लगायत बिभिन्न आयुर्वेद संघ संस्थाहरुमा आरोग्य दिवसको रुपमा धन्वन्तरिको पूजा अर्चना गरी मनाउने गर्दछन् ।
वि.सं २०५२ सालदेखि सिंहदरबार वैद्यखाना विकास समितिमा परिणत भए पछि धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसर पारेर सिंहदरबार वैद्यखाना विकास समितिले पनि आफ्नो वार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ ।
मानवजातिको विकासक्रममा पूर्वीय सभ्यतामा आयुर्वेद विज्ञानको विकास भएको मानिन्छ । आयुर्वेदको उद्गमस्थल नेपाल हो । आयुर्वेद, नेपाल र नेपालीहरूको परम्परा, संस्कृति र प्रत्येक नेपालीहरुको भान्सासँग जोडिएको छ ।
हाम्रा पुर्खाहरुले यत्रतत्र पाईने जडिबुटीहरुबाट सजिलो, भरपर्दो र सस्तो रुपमा निःशुल्क रुपमा रोगीहरुको उपचार गर्दै आइरहेको पाईन्छ । उनीहरुले आफ्नै घरको वरिपरि र बारीको छेउछाउबाट घुमेर पात, मुन्टा, लहरा, बोक्रा, जरा,काण्ड आदी ल्याएर तुरुन्तै ताजा औषधि बनाई विरामीलाई सेवा गथ्र्ये । अनि बिरामीहरुको रोग निको पार्थे । तसर्थ, हाम्रो आफ्नै स्थानीय साधन र स्रोतको उपयोग गरी स्वस्थ रहने र रोगको निदान तथा उपचार गर्ने अभ्यास हुदै पुस्ताहरुबीच हस्तान्तरण हुँदै आएको बिज्ञान हो ।
अग्रजहरुको निरन्तर अभ्यासका क्रममा आयुर्वेदका प्रामाणिक ग्रन्थहरुमा बृहत्त्रयी, लघुत्रयीका अतिरिक्त औषधिनिर्माणका सन्दर्भमा रसरत्नसमुच्चय, भैषज्यरत्नावली, रसेन्द्रसार संग्रह निर्माण गरेका छन हाम्रा अग्रजहरुले ।
नेपालको सन्दर्भमा भन्नुपर्दा परापूर्वकालदेखि चिकित्साकार्यमा संलग्न वैद्य–कविराजहरुले आफ्ना अनुभवहरुलाई टिपोट गरी प्रकाशित गर्दै आएका छन् । हजारौ लिखतहरु अप्रकाशित हस्तलिखित पाण्डुलिपिका रुपमा पाइन्छन् । तिनीहरुको प्रयोग पनि प्रभावकारी मानिन्छ । आयुर्वेदमा स्वस्थको स्वास्थ्य रक्षा एवं रोगीको रोगोपचारमा प्रयोग गरिने जडिबुटीहरुको परिचय,उपयोग, गुण आदि विवेचना सहितको संग्रहयुक्त निघण्टु पाइन्छ ।
सम्बन्धित विशेषज्ञहरुद्वारा प्रत्यक्ष अवलोकन तथा लामो अनुभवको आधारमा निस्वार्थभावले तयार गरिएका छन । जस्तै, सिंहदरबार वैद्यखाना विकास समितिमा जडिबुटीहरुको रंगीन चित्रहरु र उपयोग समेत वर्णन भएको प्राचीन हस्तलिखित ग्रन्थ ‘चन्द्रनिघण्टु’। यि प्राचीन निघण्टु चिकित्सा एवं औषधिको हिसावले महत्वपूर्ण ज्ञानका श्रोत मानिन्छन ।
आयुर्वेद बिज्ञानको चार महत्वपूर्ण पक्ष मध्ये औषधि पनि एक हो । गुणस्तरीय औषधिको कुरा गर्दा गुणस्तरीय जडिबुटी अनिवार्य आवश्यकता भित्र पर्छ । हामीसँग भएका धेरै खालका सम्भावनाहरुमध्ये जडिबुटी एक हो । विविध हावापानीको भूगोलमा बाँडिएकोले हिमालदेखि तराईसम्म विभिन्न जाति र प्रजातिका हजारौँ जडिबुटी प्राकृतिक रुपले नै विद्यमान छन् र यहाँ नभएका जडिबुटी विश्वका कुनै पनि ठाऊँबाट ल्याएर ब्यवसायिक खेति गर्न सकिन्छ ।
हामी सबैले “हरियो बन नेपालको धन” एवं “जलश्रोत पछिको दोस्रो सम्पदा जडिबुटी” भन्दै आइरहेका छौ । सातसय भन्दा बढी प्रजातिका जडिबुटी नेपालमा पाइन्छन । करिव नेपालबाट युरोपका विभिन्न देशहरुमा २० भन्दा बढी प्रकारका जडिबुटीजन्य सुगन्धित तेल र जडिबुटीजन्य उत्पादनहरु निर्यात हुने गरेको पाइन्छ । जडिबुटीजन्य उत्पादनको माग उच्चरहेता पनि प्रयोगशाला नहुदा र उपयुक्त प्रविधि र व्यवस्थापन तथा परीक्षण एवं प्रमाणिकरणको सुनिश्चितता र संस्थागत समन्वय नभएका कारण स्वदेशी जडिबुटीहरुवाट बनेका उत्पादनहरु बिदेशी बजारमा पहुँच नभएको अवस्था छ ।
नेपालमा केहि जडिबुटीहरु लोप हुने अवस्थामा छन् । जडिबुटीको स्रोतमा आयुर्वेद औषधि उद्योगहरु निर्भर रहने हुँदा आगामी दिनहरुमा कच्चा जडिबुटीहरुको संकट नपर्ला भन्न सकिन्न । त्यसैले व्यावसायिक रुपमा जडिबुटी खेती गर्न सकेमात्र कच्चापदार्थको माँगलाई पूरा गर्न सकिन्छ । कच्चापदार्थको गुणस्तर,पहिचान र मूल्य निर्धारण पनि आयुर्वेदिक उत्पादकहरुमा चुनौतिको रुपमा रहेका छन् । नेपालका उत्पादकहरुले नयाँ प्रविधि, उपकरण बिश्व स्वास्थ्य संगठनले निर्धारण गरे बमोजिम (जि.एम.पी.) कुशल औषधि निर्माण प्रक्रिया लागू गर्न नयाँ चुनौती थपिएको छ ।
गुणस्तरीय जडिबुटीका लागि सार्वजनिक निजी साझेदारीमा जडिवुटी खेती प्रविधि विकास, विस्तार, उत्पादन, प्रशोधन एवम् बजार प्रवद्र्घन गर्न जरुरी छ । नेपालको समग्र र सन्तुलित विकासको लागि जडिवुटी पहिचान, संरक्षण, सम्बर्धन, विकास तथा सदुपयोगमा जोड दिनु आवश्यक छ । विभिन्न निकायहरुले विभिन्न औषधिहरु उत्पादनको लागि आवश्यक कच्चा पदार्थ आयात गरिरहेको अवस्थामा जडिवुटीसँग सरोकार राख्ने सबै निकाय तथा पक्षहरुले हातेमालो गर्दै एक अर्काबीच समन्वयकारी भूमिका खेल्नुपर्दछ ।
# गिरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध–निर्देशक हुन्
सम्पर्क इमेल : [email protected]