कुकुर वा अन्य जनावरले टोक्यो ? रेबिजबिरुद्धको सुई लगाईहाल्नुस् है

टेकु अस्पतालमा चौविसै घण्टा उपलव्ध छ रेबिजबिरुद्धको सुई

काठमाडौँ, १६ बैशाख । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा गत आईतबार कुकुरले टोकेर रेबिजबिरुद्धको सुई लगाउन आउनेहरुको संख्या (नयाँ केस) १७३ जना थियो । अनि त्यहि दिन फलोअपमा सुई लगाउन आउनेको संख्या (पुरानो केस) ५१५ जना पुग्यो ।

यो अस्पतालमा गएको आर्थिक वर्ष अर्थात २०८०/०८१ मा कुकुरले टोकेर सुई लगाउन आउनको संख्या ६३ हजार ८१५ जना थियो । यो भनेको दैनिक औषत १७५ जना हो ।

काठमाडौँमा टेकु अस्पताल रेबिजबिरुद्धको सुई लगाउने अस्पतालको रुपमा चिनिन्छ । सरकारले उपलव्ध गराएको रेबिजबिरुद्धको निशुल्क रेबिजबिरुद्धको सुई यस अस्पतालमा चौविसै घण्टा निशुल्क लगाईन्छ । त्यसैले काठमाडौँ र वरपरका धेरै सर्वसाधारण कुकुरले टोकेमा यहि अस्पतालमा पुग्ने गर्दछन् । तर यसको अर्थ अन्यत्र यो खोप नपाईने भन्ने होईन ।

काठमाडौँका निजी अस्पतालहरुमा, क्लिनिक तथा उपत्यका बाहिर थुप्रै साना ठूला सरकारी र निजी अस्पतालमा कुकुर, स्याल, फ्याउरो, बादर,बिरालो लगायतले टोकेमा लगाईने रेबिजबिरुको खोप निशुल्क तथा सशुल्क रुपमा पाईन्छ ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौला कुकुरले टोकेमा जतिसक्यो छिटो रेबिजबिरुद्धको खोप दिईनु पर्ने भएकोले टेकुमा चौविसै घण्टा यो सेवा उपलव्ध भएको बताउँछन् । ‘यहाँ काठमाडौँ र वरपरका क्षेत्रबाट मात्रै होईन उपत्यकाबाहिर टाढा टाढाबाट प्लेन चडेर नै यहाँ सुई लगाउन आउने गर्दछन्,त्यसैले पनि संख्या केही धेरै भएको हुनसक्छ,’ उनले भने ।

टेकु अस्पतालमा सामान्य टोकेमा लगाईने एन्टी रेबिज भ्याक्सिन (एआरभी) देखि ठूलो घाउँ हुने गरी टोकेमा लगाईने ईक्युन रेबिज ईम्युनोग्लोबिन (ईआरआईजी) खोप निशुल्क दिईने गरिन्छ । ईआरआईजी खोप लिनेको संख्या गत आर्थिक वर्षमा औषत दैनिक ३२ जना हुने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

किन महत्वपूर्ण छ यो खोप ?

अस्पतालका निर्देशक डा. बसौलाका अनुसार मानिसमा रेबिज देखिईसके पछि ज्यान बचाउन असम्भव नै छ । उनी भन्छन्, ‘गतवर्ष टेकु अस्पतालमा २० जना भर्ना भएका थिए । सिकिस्त भएपछि पाँच जनालाई परिवारले घरमै लैजान्छौँ भनेर बीचमै लिएर गए, १५ जनाको यहि नै मृत्यु भयो,’ उनले भने । डा. बसौलाले रोग लागि सकेपछि सतप्रतिशत नै मृत्यु हुने भएकोले रोग लाग्न नदिनका लागि खोप महत्वपूर्ण भएको बताउँछन् ।

‘कुकुर, फ्याउरो, बादर, स्याल, बिरालो जस्ता घरपालुवा र जंगली जनावर जेले टोकेपनि सकेसम्म छिटो एन्टीरेबिज भ्याक्सिन लिन पुगि हाल्नु होला । कसैले घर पालुवा कुकुर हो, भ्याक्सिन लिन पर्दैन होला भनेर बस्ने गरेको पनि देखिन्छ । त्यो गलत हो । कहिलेकाँही धोका हुन सक्छ । त्यसैले सकेसम्म छिटो अस्पताल पुगेर चिकित्सकको परामर्शमा पुग्नुहोला । रेविज देखिई सकेपछि यसलाई नियन्त्रण गर्न सकिदैन,’ उनी भन्छन् ।

रेविजबिरुद्धको खोप कतिवटा लगाउनु पर्छ ?
कुकुर वा माथि उल्लेखित जनावरले टोकेमा सकेसम्म छिटो खोप लिनु पर्दछ । पहिलो दिन दुइवटा एआरभी (एन्टीरेबिज भ्याक्सिन) दिईन्छ । त्यसपछि तेस्रो दिन र अन्तिम खोप सातौँ दिनमा दिईन्छ । यो चार डोज खोप एक साता भित्र लगाउँदा तपाईँ सुरक्षित हुनुहुन्छ । तर टोकेर धेरै ठूलो घाउ नै बनाएको छ भने एआरभीसंगै ईमिन्योग्लोविन खोप समेत दिनु पर्दछ । सरकारले इमिन्योग्लोविन खोप समेत निशुल्क उपलव्ध गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *