के एमबीबीएस र बीडीएसको सिट बढ्ला ? डा. दीपक काफ्लेको संयोजकत्वमा गठित कार्यदलले आज प्रतिवेदन बुझाउँदै
काठमाडौँ, १५ बैशाख । चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले गठन गरेको एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन कार्यदलले आफ्नो प्रतिवेदन आज सरकारलाई बुझाउने भएको छ ।
कार्यदलका संयोजक रहेका शिक्षा सचिव डा. दीपक काफ्ले नेतृत्वको टोलीले आज ११ बजे बस्ने चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकका बेला प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
यसअघि प्रतिवेदनलाई अन्तिम रुप दिन कार्यदलको तेस्रो तथा अन्तिम बैठक आईतबार विहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको थियो ।
निजी मेडिकल कलेजहरुमा पीजी अध्ययन् गर्नेहरुलाई निर्वाह भत्ता सरकारी सरह गर्नुपर्ने भन्दै आन्दोलन भईरहेको बेला बस्न लागेको बैठक र बुझाईन लागेको प्रतिवेदनलाई विशेष महत्वका साथ हेरिएको छ ।
निजी मेडिकल कलेजहरुले सिट संख्या बढ्ने र शुल्क समायोजन हुने भएमा निर्वाहभत्ता सरकारी सरह दिन अफ्टेरो नपर्ने बताउँदै आएका छन् । उनीहरुले यथास्थितिमा भने निर्णय कार्यान्वयन नहुने भनेका छन् ।
यता आन्दोलनरत चिकित्सकहरुले १६ औँ बैठकले निर्णय गरिसकेको निर्वाह भत्ताको रकम विना सर्त कार्यान्वयनमा ल्याउनु पर्ने भन्दै आईरहेका छन् ।
स्रोतका अनुसार कार्यदलले मापदण्ड पुगेका कलेजहरुमा एमबीबीएस र वीडीएसको थप्न सकिने राय दिने बुझिएको छ । यस्तै शुल्कको विषयमा पनि समायोजन गर्ने गरि अघि बढ्न सकिने सुझाव दिने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]