नेपाल जनस्वास्थ्य संघका केन्द्रीय अध्यक्ष कृष्णमान शाक्य ‘पदच्युत’
काठमाडौँ, १४ बैशाख । नेपाल जनस्वास्थ्य संघ (नेफा)का केन्द्रीय अध्यक्ष कृष्णमान शाक्य ‘पदच्युत’ हुने अवस्थामा पुगेका छन् । उनी एक वर्ष अघि २७ चैत २०८० का दिन संघको अध्यक्षमा निर्विरोध रुपमा निर्वाचित भएका थिए ।
तर निर्वाचित भएको साढे चार महिना पछि संघकै सदस्य टोपेन्द्र खड्काले उनी अध्यक्ष बन्नु विधान विपरित रहेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएपछि भएको छानविनले उनीलाई पदच्युतको अवस्थामा पुरयाएको हो ।
खड्काले १७ साउन २०८१ मा दर्ता गराएको उजुरी निवेदनका सम्वन्धमा जिल्ला प्रशासन कार्यालय ललिपतुरले सो सम्वन्धी विषयको जाँचवुझ गर्न २४ साउन २०८१, १५ भदौ २०८१ र ३१ भदौ २०८१ गरी तीन पटक पत्राचार गरी नेफासंग आवश्यक सूचनाहरु माग गरेको थियो ।
नेफाले नै दिएको सूचनाको आधारमा जित्रकाले शाक्यको अध्यक्ष पदलाई अवैध भनेको छ ।
जिप्रकाले गत ७ बैशाखमा शाक्यलाई बोदार्थ गरी संघलाई कारवाही सम्वन्धी पत्र पठाईसकेको छ । जिप्रकाको पत्र आएपछि गत ९ बैशाखमा संघको बैठक बसेको थियो । तर सो बैठकको अध्यक्षता उपाध्यक्ष तेजप्रसाद दुलाललाई गर्न लगाईएको थियो । सो बैठकमा शाक्य आफैले जिप्रका ललितपुरबाट आएको पत्रबारे जानकारी गराएका थिए ।
- प्रतिस्पर्धी उम्मेद्धार नभएपछि ११ दिन अघि नै निर्वाचित भयो ‘नेफा’को नयाँ कार्यसमिति, अध्यक्षमा शाक्य
सर्वसम्मती अध्यक्ष चुनिएका शाक्यको पद कसरी विधान विपरित भयो ?
संस्थाको विधान अनुसार संस्थाको केन्द्रीय सल्लाहकार समितिमा छनौट भएका व्यक्तिहरु भविस्यमा केन्द्रीय समितिको कुनै पनि पदमा रहन नमिल्ने उल्लेख छ ।
शाक्य यसअघिका अध्यक्ष बसन्त अधिकारी नेतृत्वको कार्यकाल (२०७८ – ०८१)मा केन्द्रीय सल्लाहकार समितिको सदस्य पदमा रहेका थिए । जिप्रकाले सोही आधारलाई टेकेर शाक्यलाई अध्यक्ष पदमा रहेर काम गर्न नमिल्ने भनेको हो ।
हुन पनि नेफाको विधान २०४७(तेस्रो संसोधन २०७०) को परिच्छेद ५ को दफा १६ (ङ) मा संस्थाको केन्द्रीय सल्लाहकार समितिमा छनौट भएका व्यक्तिहरु भविस्यमा केन्द्रीय समितिको कुनै पनि पदमा रहने छैनन् भन्ने व्यवस्था उल्लेख छ ।
शाक्य अघिल्लो पटक बसन्त अधिकारी र महेश्वर श्रेष्ठ अध्यक्ष पदमा भिड्दा श्रेष्ठविरु बागीको रुपमा खडा भएका थिए । यद्धपी मतदान हुने दिन नजिक आउँदा उनले आफूले उम्मेद्धारी फिर्ता लिएका थिए । त्यस पछि उनलाई अधिकारीले सल्लाहकार सदस्यमा मनोनित गरेका थिए ।
सम्पर्क इमेल : [email protected]