भोलि बस्दै चिकित्सा शिक्षा आयोगको १९औँ बैठक, कार्यदलको प्रतिवेदन पनि भोली बुझाउने तयारी
काठमाडौँ, १४ बैशाख । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक सोमबार (भोली) बस्ने भएको छ । बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्ने तालिका रहेको छ ।
खासगरी चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) तहका विद्यार्थीहरुलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्काएका बेला बस्न लागेको यो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ ।
नेपाल चिकित्सक संघ तथा विद्यार्थी पक्षले निजीमा पीजी अध्ययन् गर्ने विद्यार्थीलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरी भएको १८ औँ बैठकको निर्णय तत्काल कार्यान्वयन हुनु पर्ने बताउँदै आएका छन् । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरु स्रोत सुनिश्चित भएपछि मात्रै सरकारी सरह भत्ता दिन सकिने भन्दै आएका छन् ।
त्यसो त यसअघि ३ बैशाखमा बसेको १८ औँ बैठकले १० दिन भित्र निजी मेडिकल कलेजका लागि दिईदै आएको एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन गर्न शिक्षा सचिव डा दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरेको थियो । सो कार्यदलले पनि भोली नै रिपोर्ट बुझाउने तयारी गरेको बुझिएको छ ।
अहिलेसम्म तीन पटक बसेको कार्यदलको पछिल्लो बैठक आज विहान साढे ९ बजे देखि झण्डै अढाई घण्टा चलेको थियो । सो बैठकले रिपोर्ट फाइनल गर्दै भोली बुझाउने तयारी गरेको छ ।
कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा शास्त्र संकायका डीन डा मोहन शर्मा, काठमाडौँ विश्वविद्यालय, चिकित्सा शास्त्र संकायका डीन डा मनोज हुमागाईँ, विज्ञहरु डा भगवान कोइराला, डा रमेशकान्त अधिकारी, डा दिव्यासिंह शाह, डा मंगल रावलल तथा नेपाल मेडिकल कलेजका अध्यक्ष डा अनिल कार्की र एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजका अध्यक्ष डा ज्ञानेन्द्र कार्की सदस्य रहेका छन् ।
सम्पर्क इमेल : [email protected]