चिकित्सक संघको आन्दोलन : वीर, ट्रमामा ओपीडी बन्द, टिचिङ, कान्ति लगायतमा सञ्चालन

नेपाल मेडिकल कलेज जोरपाटीमा अवरोध, केएमसीमा सुचारु

काठमाडौँ, १२ बैशाख । निजी मेडिकल कलेजले पीजीका रेजिडेन्ड्सहरुलाई सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलव्ध गराउनु पर्ने भन्दै आकस्मिक र सघन उपचार बाहेकका सेवा बहिस्कार आव्हान गरेको नेपाल चिकित्सक संघको प्रभाव उपत्यकामा मिश्रित देखा परेको छ ।

संघको आव्हानको पूर्ण कार्यान्वयन वीर अस्पतालमा भएको छ । आवासीय चिकित्सकको आव्हानका कारण आज त्यहाँ आज ओपीडी सेवा सञ्चालन नभएको निर्देशक डा दिलिप शर्माले बताए । सेवा बन्द हुँदा अस्पतालमा पुगेका बिरामीहरु अलपत्र देखिएका छन् ।

संगै रहेको राष्ट्रिय ट्रमा सेन्टरमा पनि ओपिडी सेवा बन्द भएको छ । अस्पताल प्रशासनले आएका बिरामीलाई इमरजेन्सीबाट सेवा दिएर पठाएको बताएको छ । ट्रमा मेसु डा बद्री रिजाल भन्छन्, ‘ओपीडी त बन्द नै भयो, आएका बिरामीहरुलाई आकस्मिक कक्षबाट उपचार हुने व्यवस्था मिलाइएको छ ।’

तर, यता कान्ति वाल अस्पतालमा भने बन्दको असर खासै परेको छैन । केही आवासीय चिकित्सकले सेवा बहिस्कार गरे पनि सिनियर चिकित्सकहरुको सहयोगमा सेवा नियमित भईरहेको बताइएको छ ।

उता अर्को ठूलो सरकारी अस्पताल त्रिवि शिक्षण अस्पतालमा पनि उपचार सेवा निर्वाध चलेको बताइएको छ । बन्द नगर्ने भन्ने आवासीय चिकित्सकको संख्या ठूलो भएपछि सुचारु भएको बताइएको छ ।

निजी तर्फ जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय चिकित्सकहरुले टिकट काट्ने ठाउँमै धर्ना दिएर अवरोध सिर्जजना गरेको बताइएको छ । त्यहाँ अस्पताल सञ्चालकसंग केही वेर भनाभन परेको समेत बुझिएको छ ।

यता सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा पनि बन्दको खासै प्रभाव नभएको अस्पताल प्रशासनले बताएको छ । ‘यहाँ धेरै जसो फ्याकल्टीले विहानको ओपीडी सम्हाल्ने भएकोले सेवा सुचारु भएको छ । विद्यार्थीहरुले सामान्य प्रदर्शन गरे पनि सेवामा असर भएको छैन,’ अस्पताल प्रशासनले भन्यो ।

बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा पनि बन्दको प्रभाव नपरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

नेपाल चिकित्सक संघको आव्हानमा आजको सेवा बहिस्कारको घोषणा गरिएको हो । आन्दोलनरत चिकित्सकहरु अहिले माइतीघर मण्डलमा भेला भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *