‘गंगालालमा १५ वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार’ नयाँ हो ?

मंगलबारको सञ्चालक समिति बैठकमा भएको कुरा के हो त ?

काठमाडौँ, १५ चैत । ‘१५ वर्ष मुनिका विपन्न बालबालिकाको शहीद गंगालालमा निशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय’ गत बुधबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सचिवालयले पठाएको यो शीर्षकको समाचार सबै जसो सञ्चार माध्यममा हुवहु प्रकाशित भयो ।

सचिवालयले पठाएको समाचारमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका सञ्चालक समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य मन्त्री पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले १५ वर्ष मुनिका विपन्न बालबालिकाको मुटु उपचार निशुल्क गर्ने निर्णय गरेको उल्लेख छ ।

यो समाचारलाई आधार मान्दा मन्त्री पौडेलले गरेको नयाँ काम भन्ने जस्तो देखिन्छ ।

बुधबार समाचार आएपछि धेरैले स्वास्थ्य मन्त्री पौडेललाई गंगालालमा बालबालिकाको निशुल्क उपचार सेवाको मिलाएको भन्दै बधाई समेत दिएका छन् ।

तर,  समाचारमा उल्लेख गरिए जस्तो यो नयाँ निर्णय भने होईन ।

अस्पतालका कार्यकारी निर्देशक डा. रवि मल्ल पनि यो नयाँ विषय नभएको भन्दै समाचारको विषयले आश्चर्यमा परेको बताउँछन् ।

गंगालालमा १५ वर्ष मुनिका बालबालिकाको निशुल्क उपचार यसपटक हुन लागेको हो त ?

समाचारमा आए जस्तो गंगालाल हृदय केन्द्रमा १५ वर्ष मुनिका विपन्न बालबालिकाको निशुल्क उपचार हुने व्यवस्था अहिलेका स्वास्थ्य मन्त्री पौडेलले गरेका होइनन् ।

सो केन्द्रले १५ वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क उपचार सेवा दिन थालेको १६ वर्ष बढी भईसकेको छ ।

सो अस्पतालले आर्थिक वर्ष २०६४/०६५ बाट १५ वर्ष मुनिका बालबालिकाको निशुल्क मुटु उपचार सेवा दिन थालेको हो ।

पहिलो वर्ष अर्थात आर्थिक वर्ष २०६४ ०६५मा ७१३ जना बालबालिकाको निशुल्क उपचार भएको थियो । अस्पतालका अनुसार आर्थिक वर्ष २०६५/६६ मा ६२७ जना, २०६६/६७ मा ६४८ जना, २०६७/६८ मा ७७६ जना, २०६८/६९ मा ७२१ जना, २०६९/७० मा ६६१ जना, २०७०/७१ मा ६४७ जना, २०७१/ ७२ सालमा ५५० जना बालबालिकाको मुटुको निःशुल्क उपचार गरेको छ ।

त्यस यताका वर्षमा पनि केन्द्रले निशुल्क उपचार दिई नै रहेको छ ।

बालबालिका मात्रै होइन गंगालालमा ७५ वर्ष माथिका जेष्ठ नागरिकको उपचार पनि निशुल्क हुन्छ । गंगालालले आर्थि वर्ष २०६४ ६५ देखि नै यो सुविधा सुरु गरको हो ।

अहिले भएको खास निर्णय के हो त ?

विसं २०६४ साल देखि नै १५ वर्ष मुनिका बालबालिकाहरुको उपचार निशुल्क हुने गरेको गंगालालमा केही महिना अघि देखि उपचारमा २ लाख ५० हजार छुट सुविधा दिने गर्न थालिएको थियो । कारण थियो उपचार पछिको सोधभर्ना हुन बाँकी ४८ करोड बढीको बक्यौँता ।

कार्यकारी निर्देशक मल्ल भन्छन्, ‘पैसाको अभावमा कुनै पनि बालबालिका फर्किनु परेन । तर हामीले सक्ने परिवारको बालबालिकाहरुलाई पैसा तिर्नका लागि प्रोत्साहित गर्दथ्यौँ, नसक्नेलाई हामीले आन्तरिक वा बाहिय स्रोत प्रयोग गरेर पनि उपचार सम्पन्न गर्दथ्यौँ ।’

उनले सरकारले चालु आर्थिक वर्षमा १२ करोड ५० लाख रुपैयाँ बजेट उपलव्ध गराएको र त्यसबाट ५०० बालबालिकाको शल्यक्रिया गर्नुपर्ने लक्ष्य निर्धारण गर्दा एउटाको भागमा २ लाख ५० हजार रुपैयाँ पुग्ने हिसाव गरिएको सुनाए ।

मुटुको उपचार २ लाख ५० हजारले मात्रै पुग्दैन, कोही कोही १२- १५ लाख रुपैयाँ लाग्छ ।

‘हामीले त्यसरी उपचार गरेर रकम सोधभर्नाका लागि स्वास्थ्य मन्त्रालयमा पठाउथ्यौँ, पछिल्लो दुईवर्षको बक्यौँता नै ४८ करोड रुपैयाँ पुग्यो । यो पैसा आएन भने त निकै नै समस्या हुन्छ भनेर हामीले चालु आर्थिक वर्षको बजेट र लक्ष्य अनुसार २ लाख ५० हजार दिने छुट सुविधा दिने गरेका थियौँ । यद्धपी थप पैसा चाहिएमा हाम्रो कोष वा अन्य बाहिय स्रोतबाट जुटाएर उपचार सेवा उपलव्ध गराउने गरेका छौँ,’ उनले भने ।

बैठकको कुरा के हो त ? 

गंगालालले लामो समय देखि ताकेता गरेको उपचार सोधभर्ना बापतको बक्यौता रकम ४८ करोड मध्ये ५० प्रतिशत अर्थात २४ करोड रुपैयाँ अर्थ मन्त्रालयले दिने भएको छ । ‘बक्यौँतामध्येको २४ करोड रुपैयाँ आउने भएको छ । अहिले फाइल कोलेनिका पुगेको छ, अब यो महिनाको अन्त्यसम्म हाम्रो हात पर्छ सायद,’ खुशी हुँदै उनले भने ।

डा. मल्लले आधा पैसा अहिले आएपछि बाँकी अरु पैसा पनि अर्को छ महिनामा आउने विश्वास गरे ।

बैठकले बक्यौँता आधा आएपछि निशुल्क कार्यक्रम अघि बढाउन ढुक्क जस्तै भएको निष्कर्ष निकालेको हो ।

अहिले पनि हामीले १५ वर्ष मुनिका बालबालिकाहरुलाई २ लाख ५० हजार रुपैयाँ नै छुट दिने हो । उपचारमा नपुग रकम भने आन्तरिक तथा बाहिय स्रोतको परिचालन गरेर मिलाउने हो । स्रोत खोजी तथा परिचालनका लागि समिति सदस्य दीपकराज सापकोटाको संयोजकत्वमा उपसमिति गठन भएको समेत डा मल्लले जानकारी दिए ।

उनले सक्नेलाई पैसा तिर्न प्रोत्साहित गर्ने र नसक्नेको निशुल्क उपचार गर्ने नीतिलाई प्रभावकारी ढंगले अघि बढाउन खोजिएको समेत बताए । ‘भारतको मेदान्त वा यस्तै अस्पतालमा गयौँ भने १० देखि १५ प्रतिशत बिरामी नेपाली हुन्छ । यहाँ २ लाखमा हुने शल्यक्रियालाई त्यहाँ २० लाख रुपैयाँ तिर्न तयार नै हुन्छ । त्यो समुदायलाई स्वदेशमै रोक्न, त्यहाँ तिर्न सक्नेले यहाँ पनि तिरुन भन्नका लागि उपचार सेवालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । अब हामीले यसलाई व्यवस्थित गर्नुपर्छ,’ उनले भने ।

‘निश्चित स्रोत छ, सक्नेले तिर भन्ने पनि हो । भारतका मेदान्ता लगायतका अस्पतालमा १० देखि १५ प्रतिशत नेपाली छन् । यहाँ २ लाखमा हुने शल्यक्रिया त्यहाँ उनीहरुले २० लाख तिर्न तयार नै छ । तर यहाँ निशुल्क नै खोज्छ । हामीले त्यसलाई बदल्नका लागि यो प्रयास गरेका हौँ ।’

सञ्चालक समितिका अर्का एक सदस्यले पनि गंगालालमा निशुल्क पहिले देखि नै हुँदै आएको र अहिले त्यसभन्दा नयाँ काम नभएको बताए । ‘नयाँ कुरा भनेको बक्यौँताको आधा रकम आउने भयो । निशुल्कका लागि थप स्रोत जुटाउन तथा परिचालन गर्न उपसमिति गठन भयो त्यहि नै हो,’ ती सदस्यले भने ।

कार्यकारी निर्देशक डा मल्लले गत पुससम्म १५ वर्ष मुनिका ४८० जना बालबालिकाहरुको उपचार भईसकेको भन्दै यो संख्या यसवर्ष ७०० बढी हुने अनुमान गरे । उनले बालबालिकाहरुमा सबैभन्दा बढी जन्मजात मुटुको समस्या हुने गरेको समेत बताए ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र अब दुई सय शय्याको अस्पताल

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *