स्वास्थ्य बीमा बोर्डका अध्यक्ष थापाले गरे पदवहाली, सुनाए आफना पाँच योजना

अध्यक्ष थापालाई स्वागत गर्दै कार्यकारी निर्देशक डा, काफ्ले

काठमाडौँ, १३ चैत । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्र थापाले पदबहाली गरेका छन् । बुधबार दिउसो बबरमहलस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पुगेर उनले पदबहाली गरेका हुन् । त्यसअघि बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेसहितका कर्मचारीले उनलाई स्वागत गरेका थिए ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै बोर्डमा रिक्त रहेको अध्यक्ष पदमा थापालाई चार वर्षका लागि नियुक्त गरेका हुन् । थापाले हिजो नै मन्त्रालय गएर स्वास्थ्य मन्त्री पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।

त्यसो त स्वास्थ्य बीमा बोर्ड अध्यक्ष थापाका लागि नौलो भने होइन । उनले यसअघि बोर्ड सदस्यको रुपमा तीन वर्ष एक महिना त्यहाँको अनुभव लिई सकेका छन् । स्वास्थ्य बीमा बोर्ड सदस्यमा ३१ भदौ २०७७ मा चार वर्षका लागि नियुक्त भएका थापाले ३० असोज २०८० मा राजिनामा दिएका थिए । सरकारबाट नियुक्त भएका सबै सदस्यहरुको राजिनामा दिने योजना अनुरुप त्यसबेला थापाले पनि राजिनामा दिएका थिए ।

स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि पाँच योजना
बुधबार पदवहाली पछि प्रतिक्रिया दिने क्रममा अध्यक्ष थापाले स्वास्थ्य बीमा सुधारका लागि आफूले पाँच योजना सोचिरहेको बताए । उनले ती योजना कार्यान्वयनमा आउँदा स्वास्थ्य बीमा धेरै नै सुधार हुने दावी गरे ।

के के छन् उनका योजना ?

१. औपचारिक क्षेत्रलाई अनिवार्य रुपमा यसमा आवद्ध गर्ने :

स्वास्थ्य बीमा कार्यक्रम सफल भएका धेरै देशहरुले यो कार्यक्रम पहिले औपचारिक क्षेत्रबाट सुरु गर्ने गर्दथे । तर हामीकहाँ उल्टो जस्तो भयो । अनौपचारिक क्षेत्रबाट यो कार्यक्रम सुरु गरियो । औपचारिक क्षेत्र अहिलेसम्म समेटिएको छैन । ऐनमा भएको व्यवस्थालाई नौँ वर्षसम्म कार्यान्वयनमा ल्याउन सकिएन । मेरो चासो र प्राथमिकता अब औपचारिक क्षेत्रलाई बीमामा ल्याउने भन्ने हो । जो कुरा माननीय मन्त्री ज्यूले पनि भन्दै आउनु भएको छ ।

२. छरिएका कार्यक्रमलाई एकद्धार ढंगबाट अघि बढाउने र सञ्चालन स्वास्थ्य बीमाले गर्ने :

स्वास्थ्यमा धेरै कार्यक्रमहरु छन् । डुब्लिकेसनमा छन् । त्यसैले स्वास्थ्यका छरिएर रहेका सहुलियत दिने कार्यक्रमहरु अब स्वास्थ्य बीमा मार्फत सञ्चालन गर्ने योजना हो । जस्तै आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिकको कडा रोगको उपचार लगायतका कार्यक्रमरु पनि विमा मार्फत जाने गराउनु पर्छ भन्ने मेरो मान्यता हो । यसलाई कार्यान्वयनमा लैजाने मेरो प्राथमिकता हो ।

३. आर्थिक व्यवस्थापन बलियो बनाउने :

बीमा कार्यक्रम अलि अस्तव्यस्त जस्तो देखिनुमा आर्थिक पक्ष पनि छ । त्यसैले मैले अहिले भएको बीमाकोषलाई थप बलियो बनाउने गरी आर्थिक स्रोत खोज्ने काम पनि अबको आवश्यकता हो । किनभने बीमाको सेवा र सेवा प्रदायकबाट आउने गुनासो सिधै आर्थिक कुरासंग जोडिदो रहेछ । समयमै रकम भुक्तानी गर्न सकिएमा सेवामा पनि चुस्तता आँउदो रहेछ । यसमा सामाजिक सुरक्षा कोष पनि बीमा कोषबाट चालनउ सकिन्छ । अन्य त्यस्ता थुप्रै स्रोतहरु जुटाएर एकीकृत ढंगबाट कार्यक्रम अघि बढाउन सकिन्छ ।

४. आईटीमा सुधार गर्ने :

स्वास्थ्य बीमा बोर्ड अब देशव्यापी भईसक्यो । युनिभर्सल हेल्थ कभरेज सफल बनाउने काम अब स्वास्थ्य बीमाको सफलतासंग जोडिएर आउँछ । यति ठूलो कार्यक्रममा सुहाउँदो आईटी छैन । अब डिजिटलाईजेशन भईसक्यो, ए आईको जमाना आईसक्यो तर न हामीले अनलाइनबाट खोजेको तथ्यांक पाउन सकिन्छ । न त नागरिकको पहुँच छ । अहिलेको समयमा चल्नुपर्ने प्रविधि अपडेट गर्नुपर्छ । अब एनालग हेरेर हुँदैन, डिजिटलाइज गराउने प्रयास हुन्छ ।

५. जनशक्ति व्यवस्थापन :

स्वास्थ्य बीमा ठूलो कार्यक्रम हो । तर यसमा आवश्यक जनशक्तिको अभाव छ । जनशक्ति अभाव हुँदा काम समयमै सकिदैन । यसको असर स्वास्थ्य बीमा कार्यक्रमलाई दिनहुँ परिरहेको छ । बोर्डका लागि यसअघि पनि जनशक्तिका लागि ओएनएम गरिएको हो । अब पनि जनशक्ति सके सम्म छिटो ल्याउनका लागि प्रयास गर्नुपर्ने हुन्छ । जे होस्, दरबन्दी स्वीकृत गराई सो अनुसारको जनशक्ति नल्याई यो कार्यक्रम सञ्चालनमा कठिनाई हुन्छ । करारले कति दिन टिक्ने ? कहिलेसम्म टिक्ने ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *