मिर्गौला उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएका सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् ।
नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिए ।
आफूले दुई पटक मिर्गौला प्रत्यारोपण गराएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रो पटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउँन पाउँदा गर्भ महसुस भएको उल्लेख गरे ।
सम्मेलनबाट प्राप्त निष्कर्षहरु सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट गरे ।
यतिवेला सरकार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेको भन्दै सम्मेलनबाट आउने निस्कर्षलाई बजेटमा समेटन सकिने विचार व्यक्त गरे ।
सो अवसरमा समाजका अध्यक्ष प्रा डा दिव्या सिंह शाहले नेपालमा मिर्गौलाका बिरामीका लागि डाइलासिस सेवा सन् १९९८ देखि सुरु भएको र प्रत्यारोपण सन् २००८ देखि सुरु भएको बताईन । उनले दक्षिण एशियामा मिर्गौला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतिकरण दिएकी थिईन् ।
सम्मेलनमा नेपाल सहित भारत, अमेरिका, मलेसिया, लगायतका विभिन्न देशबाट आएका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको डा मुकुन्दप्रसाद काफ्लेले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]