मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल सहित १० जनालाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

काठमाडौँ, ८ चैत । मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहकाबीच डा अनिललाई चिकित्सा विधा तर्फ पुरस्कृत गरेका हुन् ।

सो अवसरमा अन्य विधाबाट पुरस्कारका लागि छनौट भएका व्यक्तिलाई पनि पुरस्कृत गरिएको थियो ।

सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । पुरस्कृतहरुलाई प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गरेका थिए ।

पुरस्कृत हुनेमा डा ओममुर्तीसंगै टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) रहेका छन् । यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल ९महोत्तरी०, खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् ।

नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको थियो ।

उक्त कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । २०७६ सालमा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन ।

अहिले पाँच वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *