काठमाडौँ महानगरले चैत १२ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौँ, ८ चैत । काठमाडौँ महानगरपालिका (कामपा) ले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुमा देखिने स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ ।

स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा चैत १२ गतेदेखि वैशाख १२ गतेसम्म एक महिना परीक्षण र उपचार सञ्चालन गर्नेछ ।

महानगरका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ ।

यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुईँ तलामा गएर जँचाउन सकिन्छ ।

स्वास्थ्य प्रवर्धन केन्द्रबाट रेफरल स्लिप लिनु पर्नाको कारण बारे कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्ट भन्छिन्, ‘स्वास्थ्य प्रवर्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकोले जँचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने प्रबन्ध गरिएको हो ।’

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ ।

यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० वर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिनेछ ।

यसअघि काठमाडौँ महानगरपालिकाले गत वैशाख ३ गते देखि एक महिनाभर वडाहरूमा महिलाहरुमा देखिने क्यान्सर तथा प्रजनन् अस्वस्थताको नि:शुल्क जाँच शिविर सञ्चालन गरेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *