‘निक साईमन्स अवार्ड-२०२४’ जनस्वास्थ्य निरीक्षक थापालाई
काठमाडौँ, ५ चैत । ग्रामीण क्षेत्रमा रहेर उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई दिईने ‘निक साईमन्स अवार्ड – २०२४’ यसपटक जनस्वास्थ्य निरीक्षक रविन थापाले प्राप्त गरेका छन् ।
धादिङको ज्वालामुखी गाउँपालिकास्थित ढोला स्वास्थ्य चौकीमा कार्यरत थापालाई स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साईमन्स ईन्स्टिच्युटको संयुक्त आयोजनामा आज देखि काठमाडौँमा सुरु भएको १३ औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनको उदघाटन समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रदान गरेका हुन् ।
यसअघि आयोजक संस्थाले निक साईमन्स अवार्ड – २०२४ का लागि ईच्छुक स्वास्थ्यकर्मीहरुलाई ग्रामीण क्षेत्रमा आफूले गरेको कार्यविवरण सहित आवेदन दिन सार्वजनिक सूचना जारी गरेको थियो ।
सो सूचना अनुसार २५ जनाले आवेदन दिएका थिए ।
तर, अन्तिममा १७ जनाको आवेदन मात्रै छनौट गरिएको थियो ।
अवार्डका लागि नाम छनौट समितिले त्यसमध्ये पाँच जनालाई उत्कृष्ठ पाँचमा छनौट गरि अन्तिम प्रतिस्पर्धामा उतारेको थियो ।
त्यसमा थापा सहित कालिकोटका सी अहेव अमरबहादुर सहकारी, दैलेखका सीअहेव कमलकुमार भण्डारी, खोटाङकी अनमी गंगा दाहाल, र दार्चुलाका सीअहेव हरिकृष्ण जोसी परेका थिए । त्यसमध्येबाट थापा छनौट भएको आयोजकले जनाएको छ ।
तालीम केन्द्रकी निर्देशक यसोदा अर्यालको संयोजकत्वमा पाँच सदस्यीय समितिले अवार्डका लागि स्वास्थ्यकर्मी छनौट गरेको थियो ।
सम्पर्क इमेल : [email protected]