पक्षघातका बिरामीका लागि प्रयोग हुने नि:शुल्क औषधी नेपाल आइपुग्यो, सरकारी अस्पतालमार्फत बिरामीले पाउने
काठमाडौँ, ३ चैत । पक्षघात (स्ट्रोक) का बिरामीको उपचारका लागि निशुल्क उपलव्ध हुने भनेको महंगो र दुर्लभ औषधी नेपाल आइपुगेको छ । अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफले पहिलो चरणमा ८०० भाइल ‘अल्टिप्लेस रिकम्बिनेन्ट २० मिलीग्राम’ औषधी नेपाल पठाएको हो ।
यो औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गैरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । नेपालमा सहजै उपलव्ध हुन समेत गाह्रो हुने सो औषधीको एक मात्राको मूल्य नेपालमा झण्डै एक लाख ६० हजार पर्ने बताइएको छ ।
सरकारी अस्पतालमा उपचाररत बिरामीका लागि निशुल्क औषधी उपलव्ध गराउन दुई महिना अघि अर्थात ४ माघमा स्वास्थ्य मन्त्रालय र डाइरेक्ट रिलिफबीच सम्झौँता भएको थियो । सोही अनुसार अहिले औषधि आएको हो ।
औषधि गत सोमबार नै नेपाल भित्रिएको हो । कागजी प्रक्रिया सम्पन्न हुन बाँकी रहेकोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गोदाममा सो औषधी राखिएको छ ।
औषधि भित्र्याउनका लागि समन्वय गरिरहेका स्वास्थ्य मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा भीम सापकोटाले आज भोलीमै भन्सार छुटाएपछि टेकुमा रहेको स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाको औषधी भण्डारण केन्द्रमा लैजाने र त्यहिबाट संघीय तथा प्रादेशिक अस्पतालमा औषधी वितरण हुने बताए ।
नेपालका न्युरो फिजिसियन सहितका विज्ञहरुले दिएको सुझाव अनुसार औषधी आएको भन्दै उपचारमा सम्लग्न चिकित्सक र उपचार विवरण अनुसार एक वर्षमा करीव ८ सय भाइल भए पुग्ने देखिएकोले वर्ष दिनलाई पुग्ने गरी पहिलो खेप औषधी आएको हो ।
डा सापकोटाले च्यारिटी संस्था डाइरेक्ट रिलिफले आगामी ५ वर्षसम्मका लागि आवश्यक औषधी निशुल्क उपलव्ध गराउने समेत बताए । उनले औषधी व्यवस्था विभागमा दर्ता भएकै औषधि भएकोले यसमा अनावश्यक शंका नगर्न समेत आग्रह गरे ।
‘यो धनी र पहुँचवालाहरुले प्रयोग गरेको औषधी हो । तर गरीव विपन्नका लागि पहुँचमा थिएन । डाइरेक्ट रिलिफले ती नागरिकलाई लक्षित गरी यो औषधी उपलव्ध गराएको हो । गुणस्तरीय, दुर्लभ र महंगो औषधी नेपालले निशुल्क पाउनु सुखद कुरा हो,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आएको औषधी कुन–कुन अस्पतालमार्फत कसरी वितरण गर्ने भनेर औषधी वितरण कार्यविधि बनाउन थालिएको बताए ।
उनले स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र उपचारात्मक महाशाखालाई समन्वय गरी योजना बनाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको जानकारी दिए । उनीहरुले वितरण योजना बनाएर मन्त्रालय पठाएपछि सोही अनुसार औषधि बिरामीलाई दिइने बुढाथोकीले बताए ।
सम्पर्क इमेल : [email protected]