दादुरा रोकथाम अभियानमा बाधक बनेको ‘एन्टी–भ्याक्स’ के हो ?

दादुरा मोर्बिलि भाइरस प्रजातिमा पर्ने एक आर.एन.ए भाइरसबाट हुने संक्रामक रोग हो । दादुरा रोग सो रोगबाट संक्रमित बिरामीको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा र खोक्दा सर्ने गर्दछ ।

दादुराले खास गरेर कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ । दादुरा रोग अतिसंक्रमित रोग भएकोले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबलिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन् ।

सन् १९६० को अन्तसम्म पनि दादुराबाट विश्वमा  वर्षेनी लाखौ मानिसहरुको मृत्यु हुने गरेको थियो । नेपाल जस्ता गरीब देशमा त झन दादुरा बालमृत्युको मुख्य कारण बनेको थियो ।

सन् १९७१ मा मौरिस हिलेमनले दादुरा, गलगाँड र रुबेला खोपहरू संयोजन गर्दै एम.एम.आर खोप विकास गरे । यो खोप लगाउन थालेपछि विश्वव्यापी दादुराबाट हुने मृत्यु ७३ प्रतिसतले घट्न पुग्यो । खोप लगाउन थालेदेखि ९७% प्रभावकारिता दर भएको एम.एम.आर खोपलाईनै सबैभन्दा प्रभावकारी खोपको रुपमा स्वीकार गरिएको छ, जसले विश्वव्यापी रूपमा अनुमानित ५ करोड ६० लाख मृत्युलाई रोकेको तथ्यांकले देखाउछ ।

विश्व स्वास्थ्य संगठनले युरोपमा पछिल्लो २५ वर्षमा सबैभन्दा धेरै दादुरा संक्रमित फेला परेको जनाएको छ । संगठनका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा युरोपमा दोब्बर दादुरा संक्रमित फेला परेका छन् । सन् २०२५ मा अमेरिकामा दादुराको पुनरागमनले जनस्वास्थ्य तथा स्वास्थ्य सेवा प्रणालीमा चुनौतीको सिर्जना गरेको छ । मार्च २०२५ सम्ममा १२ राज्यहरूमा २२२ भन्दा बढी संक्रमितहरू फेला गरेका र दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । टेक्सास र न्यू मेक्सिको क्रमशः १९८ र ३० केसहरू सहित यसका केन्द्रबिन्दु बनेका छन् । यो पुनरुत्थानले खोपप्रतिको अविस्वास, हिच्किचाहट र घट्दो खोप दरको जनस्वास्थ्य परिणाम प्रस्तुत गरेको छ । यसको मूल कारक हो,  ‘एन्टी–भ्याक्स’

२० औं शताब्दीको अन्त्यतिर आधुनिक खोप विरोधी आन्दोलनले गति लियो जसको मूल कारक एन्ड्रयू वेकफिल्डको अध्ययन थियो, जसले एम.एम.आर (दादुरा, मम्प्स, रुबेला) खोपले अटिजमको खतरा निम्त्याउने कुराको झूटो दाबी गरेको थियो ।

उनले दादुराको खोपले आन्द्रामा घाउहरू गराई न्यूरोटोक्सिक प्रोटीनहरू रक्तप्रवाहमा प्रवेश गराउछ र अन्ततः मस्तिष्कमा पुगी अटिस्टिक लक्षणहरू निम्त्याउँछन् भन्ने झुठो तथ्य प्रस्तुत गरेका थिए । पत्रकार ब्रायन डियरले वेकफिल्डको अनुसन्धानमाथि दुव्र्यवहार, स्वार्थको द्वन्द्व र सम्भावित झूटको सम्भावना लगायतका मुद्दाहरू उठाएपछि मार्च ६, २००४ मा द ल्यान्सेटले लेख आंशिक रूपमा फिर्ता लिएको थियो । यस त्रुटिपूर्ण अध्ययनको अनुसन्धान पछि, फेब्रुअरी २, २०१० मा बेलायतको जनरल मेडिकल काउन्सिलले उक्त पेपरलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइसकेको छ । हालसम्म पाँच लाखभन्दा बढी बालबालिकामा गरिएका धेरै ठूला अध्ययनहरूले एम.एम.आर खोप र अटिजम बीच सम्बन्ध नरहेको पुष्टि गरिसकेका छन् ।

आजका दिनमा, खोप विरोधी अभियानहरू विश्वव्यापी जनस्वास्थ्य चुनौतिको रुपमा खडा भएका छन् , जसले अहिले दादुरा तथा अन्य रोकथाम गर्न सकिने रोगको प्रकोप विस्तारमा योगदान पुर्‍याएको छ ।  वेकफिल्डको दाबीलाइ, सेलिब्रेटीहरू र सामाजिक सञ्जालहरूले थप बढावा दिए, जसले गर्दा २०१० को दशकमा खोप दरमा गिरावट आयो र दादुराको पुनरागमन भयो । अहिले पनि समयसमयमा फेसबुक र युट्युब जस्ता डिजिटल प्लेटफर्महरूमा “भ्याक्सिन च्वाइस क्यानडा“ र “फ्रीडम एन्जल्स“ जस्ता आन्दोलनहरू ट्रेन्ड बनिरहेका देखिन्छन् , यसले खोप विरुद्ध भ्रम छर्न सघाईरहेको छ ।

सन् २०२० देखि केहि समय कोरोनाको कारण दादुरा बिरुद्धको खोप कार्यक्रम केहि प्रभावित समेत भएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दादुरा बिरुद्धको खोप लगाउने दर ७०% भन्दा कम रह्यो भने वार्षिक ५,००,००० भन्दा बढीको मृत्यु हुने अनुमान गरेको छ । यसबाट सबैभन्दा बढी गरीब र विकासोन्मुख देशहरु प्रभावित हुनेछन् । यसत देशका बालबालिकाहरु न्यून पोषणबाट ग्रस्त छन् । उनिहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले दादुराजस्ता रोगको खतरा खतरा अझै बढ्दै जान्छ । दादुराको लागि प्रतिरोधात्मक क्षमता कायम गर्नका लागि कम्तिमा ९५% खोप दर आवश्यक पर्ने भएकोले उच्च खोप पहुँच तथा सुनिश्चितता हुनु आवश्यक छ ।

नेपालले संगठित खोप अस्वीकार अभियानहरूको अनुभव गरेको त छैन, तर खोपप्रति हिचकिचाहट चिन्ताको विषय बनेको छ ।

२०२२ मा गरिएको एक अध्ययन अनुसार नेपाली जनसंख्यामा कोभिड–१९ बिरुद्धको खोप नलगाएका मानिसहरु मध्ये मात्र ९२.२% सहभागीहरूले खोप प्राप्त गर्न इच्छा व्यक्त गरेको देखाएको छ, जसले केहि जनमानस माझ खोप हिचकिचाहट कायम रहेको संकेत गर्दछ । कोभिड–१९ महामारीको समयमा पनि धेरै खोपका बारेमा गलत सूचना सामाजिक संजाल मा चर्चाका बिषय बन्ने गर्दथे ।

भौगोलिक चुनौतीहरू, दुर्गम क्षेत्रहरूमा कम स्वास्थ्य सेवा पहुँच र विद्यमान खोप हिचकिचाहटले नेपाललाई अझ ठूलो जोखिममा राखेको छ ।

यदि संयुक्त राज्य अमेरिका जस्तो उच्च विकसित , उन्नत स्वास्थ्य सेवा प्रणाली भई खोपहरूमा प्रयाप्त पहुँच भएको देशमा दादुराको पुनरुत्थान हुन सक्छ भने, भोलिका दिनमा नेपाल येस्ता रोगको जोखिममा नपर्ला भन्न सकिन्न। यसका लागि टेलीमेडिसिन र डिजिटल ट्र्याकिंग- हट्स्पोट म्यपिंग जस्ता आधुनिक प्रबिधि अपनाउनुका साथै जनमानस माझ अन्तरक्रिया मार्फत सचेतना फैलाउनु आवश्यक  देखिएको छ ।

#कंडेल महाराजगञ्ज मेडिकल क्याम्पसमा बिएस्सी एमएलटी अध्ययनरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *