‘औषधीमा गुणस्तर र नयाँपन म्याग्नसको खास पहिचान बनेको छ’
सन् २००७ मा स्थापना भएर सन् २००९ देखि औषधी उत्पादन सुरु गरेको म्याग्नस फर्मा १६ वर्षको यो अवधीमा आईपुग्दा देशकै एक प्रमुख औषधी उत्पादक कम्पनीको रुपमा स्थापित छ । कम्पनीले अहिलेसम्म १०९ ब्राण्डसहित २०७ प्रकारका औषधी उत्पादन गरिरहेको छ । नेपाली औषधी उद्योगको क्षेत्रमा स्थापित यो कम्पनीले अहिले प्यारेन्टल तथा इन्जेक्टेवल औषधी उत्पादन गर्ने लक्ष्य सहित नयाँ प्लान्ट निमार्ण गरिरहेको छ । विश्व स्वास्थ्य संगठनको कुशल औषधी अभ्यास (डब्लुएचओ जीएमपी) तथा विभिन्न अन्तराष्ट्रिय मापदण्ड अनुसार निमार्णको अन्तिम चरणमा रहेको यो नयाँ प्लान्टसहित म्याग्नसको व्यावसायीक यात्राबारे म्याग्नसका प्रबन्ध निर्देशक सुधीरप्रकाश मास्केसंग नेपाली हेल्थका रामप्रसाद न्यौपानेले सम्छिप्त कुराकानी गरेका छन् । हेरौँ कुराकानीको सार सक्षेप:
वीरगञ्जमा बन्दै गरेको प्यारेन्टल तथा इन्जेक्टेवल प्लान्टको विषयबाटै कुरा सुरु गरौँ, नेपाली औषधी उद्योगहरु जटिल अवस्थामा पुगेको छ भनिरहेको बेलामा म्याग्नसले नयाँ प्लान्ट थप्ने योजना कसरी ल्यायो ?
महत्वपूर्ण प्रश्न गर्नु भयो, यसको जवाफ दिनु अघि मैले अलिकति विगतलाई जोडन चाहन्छु । अनि म्याग्नसको इतिहासबारे पनि भन्न चाहन्छु । सन् २००७ मा दर्ता भएको कम्पनीले सन् २००९ बाट औषधी उत्पादन गर्न थाल्यो । तर कोभिड -१९ सुरु हुने बेलासम्म आईपुग्दा कम्पनीको ‘टर्नओभर’ १०० करोड बढी पुगिसकेको थियो । यसले हामीलाई निकै ठूलो उत्साह जगायो । किनभने नेपाली फर्मा उद्योगमा ११–१२ वर्षको अवधीमा यति ठूलो ‘टर्नओभर’ कुनै कम्पनीले पनि गर्न सकेको छैन । हामीले त्यसबेला देखि नै यो नयाँ प्लान्ट अघि बढाउने योजना अघि सारेका हौँ तर कोभिड – १९ को महामारी र त्यसपछिको आर्थिक मन्दीले गर्दा केही ढिला भएको हो । अहिले सोही परियोजना अघि बढेर अन्तिम चरणमा पुगेको हो ।
किन प्यारेन्टल तथा इन्जेक्टेवल औषधी बनाउन थाल्नु भयो ?
प्यारेन्टल तथा इन्जेक्टेवल औषधी पाँच वर्ष अघि नै बनाउने योजना थियो । तर लगानी धेरै हुने नेपाली बजारको साइज भने सानो हुने देखिएकोले केही हच्किएका थियौँ । अन्तिममा हामीले जस्तो चुनौती आए पनि सामना गर्ने निधो गर्दै अघि बढ्यौँ ।
दुर्भाग्य भन्नु पर्छ, त्यहि बेलामा कोभिड – १९ को महामारी सुरु भयो, त्यसपछि फेरी आर्थिक मन्दी देखिन थाल्यो । त्यसले हामीलाई केही अफ्टेरो बनायो तर पनि हामी प्लान्ट निर्माणमा अघि बढ्यौँ र अहिले अन्तिम चरणमा छौँ । अबको केही समयमै इन्जेक्टेवल लगायत नेपालमा नबनेका केही नयाँ औषधिहरु उत्पादन गर्दै छौँ ।
नयाँ नयाँ औषधी उत्पादन गर्ने भन्नु भयो, म्याग्नसबाट कस्ता नयाँ औषधीहरु उत्पादन भएका छन् ?
म्याग्नसले नेपालमा आवश्यकता भएको तर यहाँ उपलव्ध नभएका पाँच प्रकारका औषधि उत्पादन गरेको छ । यी सबै औषधीहरु हामीले पहिलो पटक नेपालमै उत्पादन गरेका हौँ । यसबाहेक ३६ प्रकारका औषधीहरु नेपालका अरु कुनै कम्पनीले उत्पादन नगरेका तर म्याग्नसबाट उत्पादन भएका छन् । अर्थात यी औषधीहरु स्वादेशी कम्पनीको लागि नयाँ हो ।
अहिले थपिने प्लान्टबाट थप नयाँ के उत्पादन हुन्छ ?
यो नयाँ प्लान्टबाट नेपालमा नभएका औषधीहरुको उत्पादन गर्ने छौँ । जस्तै इएनटीको नेजल स्प्रेहरु जो नेपालमा अहिलेसम्म कसैले बनाएको छैन त्यो हामी बनाउँदै छौँ । इन्जेक्टेवलमा पनि एकदमै नबीनतम औषधीहरु हामीले ल्याउँदै छौँ ।
नयाँ प्लान्टको लागि म्याग्नसले कति लगानी थप्यो ?
यसका लागि लगभग एक अर्व लगानी थपिएको छ । सन् २००७ मा उद्योग दर्ता गरी २००९ मा उत्पादन सुरु गर्दा हाम्रो लगानी २० करोड थियो । तर हामीले अहिले पहिलेको बाहेक थप एक अर्वको लगानी जोडेका छौँ । तर हामीले बैंकबाट ऋण लिएर यो परियोजना अघि बढाएका हौँ । हामीसंग लगभग डेढ अर्वको ऋण छ । यो ‘वेर हाउस’ र यो गर्दा लगभग १०० करोड रुपैयाँ लगानी गरेका छौँ ।
हेर्नुस्, औषधी उत्पादन गर्नु आफैमा सम्वेदनशील काम हो । अझ त्यसमा पनि प्यारेन्टल तथा इन्जेक्टेवल औषधी उत्पादन, झन् बढी सम्वेदनशील हुने भयो । यसको गुणस्तरका लागि मापदण्ड, मेसिन तथा उपकरणहरु निकै नै महंगो हुने हुँदा ठूलो लगानी भएको हो । १०० करोड रुपैयाँ लगानी गरेर उद्योग खोल्नु देश र नागरिकका लागि पनि ठूलो कुरा हो जस्तो लाग्छ । देशमा यस्तो खालको ठूलो उद्योगहरु हुँदै गएमा यसले अर्थतन्त्र मजवुत बनाउन सहयोग त हुन्छ नै त्यसमाथि देशका नागरिकका लागि रोजगारीको अवसर बढ्छ ।
पहिलेको प्लान्ट र यो प्लान्ट छुट्टै हुन्छ ?
हो छुट्टै हुन्छ । किनभने इन्जेक्टेवल औषधीहरु उत्पादन गर्ने प्लान्ट अलि बढी सम्वेदनशील हुनुपर्छ । यसको फ्याक्ट्री डिजाइन गर्दा पनि अलि सम्वेदनशील हुनुपर्छ ।
नेपालको बजार सानो छ भनिन्छ, तपाईँहरुले यति धेरै लगानी थप्नु भएको छ, नेपालको बजारले मात्रै धान्छ त ?
महत्वपूर्ण प्रश्न गर्नु भयो, मलाई के लाग्छ भने नेपालको अहिलेको यो बजारले मात्रै त धान्दैन । र, यसरी देशमै मात्रै खुम्चिएर बस्नु पनि हुँदैन । म्याग्नसको यो बिस्तार अब अन्तराष्ट्रिय बजार पनि समाउने योजनामा आधारित छ । त्यसो त हामी अहिले पनि दुईवटा देशहरु मोरिसस र भेनेजुयलामा निर्यात गरिरहेका छौँ । हामीले अहिले पनि त्यो अन्तराष्ट्रिय स्तरको गुणस्तर तथा मापदण्ड पुरा हुने गरी बनाउँदा ठूलो लगानी गर्नु परेको हो ।
मैले फेरी पनि भन्छु अन्तत्वगत्वा हाम्रो उदेश्य भनेको एक्सपोर्ट गर्ने हो । नेपालको बजारले मात्रै धान्दैन नै ।
हामीले ‘डब्लुएचओ जीएमपी’ मात्रै होईन ‘इयु जीएमपी’ लिने गरी काम गर्दैछौँ । ‘इयु जीएमपी’ भइसके पछि हामीले युरोपमा पनि औषधी निर्यात सहज रुपमा गर्न सक्छौँ । त्यसका लागि हामी काम गरिरहेका छौँ । हामीले अहिले दुई देशमा औषधी निर्यात गर्दा त्यसबाट अन्तराष्ट्रिय बजार बिस्तारका लागि अनुभव पनि भएको छ ।
नेपालका औषधी उत्पादकहरु सरकारको काम गराई र भूमिका प्रति सन्तुष्ठ देखिदैनन्, यसमा तपाईँले केही थप्नु हुन्छ ?
म त सकारात्मक सोचको मान्छे, सरकार वा विभागको भूमिकाको बारेमा अब फेरी के भन्नु, सबैलाई थाहा नै छ । बरु हामीले बुझ्नु पर्ने कुरा के भने देश त हाम्रो हो । हामीले कहि न कहि भूमिका खेल्न सक्छौँ । र हामीले सकारात्मक भूमिका खेलौँ भन्न चाहन्छु ।
किन भने एउटा उदाहरण हेरौं न, अहिले अहिले बैंकसंग लिक्वीडिटी छ तर पैसा लिने मान्छे छैन । किन छैन ? अर्कोकुरा, सरकारले लगानी सम्मेलन त गर्छ तर त्यसपछि कति लगानी भित्रियो ? म के भन्छु भने सम्मेलनले मात्रै लगानी आउने होईन, लगानीका लागि सरकारले वातावरण बनाउनु पर्छ ।
औषधीको गुणस्तरमा कुनै पनि किसिमको सम्झौँता गर्न पाइदैन । यसमा विभागले राम्रोसंग हेरोस् । किनभने गुणस्तरबाट नै नेपाली औषधी क्षेत्रको विश्वसनीयता बढ्छ । मार्केट बढ्छ ।
आज औषधी क्षेत्रमा बंगलादेश किन अगाडी छ भने त्यहाँका कम्पनीले विश्वसनीयता आर्जन गरेका छन् । त्यसैले विश्वभर उसले आफ्नो बजार बिस्तार गरेको छ । बंगलादेशले विश्व बजारमा जाँदा हामी पनि त्यो हिसावले आफूलाई बिस्तार गर्न सक्छौँ नि, त्यसका लागि राज्यले उपयुक्त नीति र लगानीकर्ता तथा उत्पादकमा त्यो खालको कार्ययोजना आवश्यक छ । यसले हामी कसै प्रति परनिर्भर हुनु पनि पर्दैन । त्यसैले सरकार अव देशलाई औद्योगिककरण तर्फ लैजान अग्रसर हुनुपर्छ भन्ने लाग्छ । अबको बहस त्यस दिशा तर्फ केन्द्रीत हुनु पर्छ जस्तो लाग्छ ।
अन्तिममा, म्याग्नसको यो सफलताको राज के होला ? बताउन मिल्छ कि ?
मिल्छ । सुरुवात देखि नै म्याग्नसको तरिका अरुको भन्दा केही फरक थियो र छ । हामीले औषधीको गुणस्तरलाई कहिले पनि सम्झौँता गरेनौँ । बजारको माग अनुसार आवश्यक नवीनतम औषधी उत्पादनमा जोड दियौँ । नेपालमा खुलेका अधिकांश औषधी उद्योगहरुले एकै खाले औषधी उत्पादन गर्ने प्रचलन जस्तो देखिन्थ्यो । हामीले त्यसको ठिक उल्टा अर्थात अरु उद्योगले उत्पादन नगरेका तर अति नै आवश्यक औषधीहरुको पहिचान गरेर ती औषधीको उत्पादन थाल्यौँ । यसले गर्दा चिकित्सकहरुले हामीलाई निकै नै सपोर्ट गर्नु भयो र हामी सफलताका साथ अघि बढेका हौँ । त्यो क्रम अहिलेको नयाँ प्रोजेक्ट अघि बढ्दै गर्दा सम्म जारी छ ।
सम्पर्क इमेल : [email protected]