माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी

 

गत असोजमा स्वास्थ्य मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलिलबीच जकार्तामा भएको भेट

काठमाडौँ, १ चैत । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउनका लागि तयारीस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त समिति गठन गरेका छन् ।

मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुषाल संयोजक रहेको सात सदस्यीय समिति गठन गरेका हुन् । समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख सदस्य छन् । यसैगरी नेपाल मेडिकल काउसिन्सलका रजिष्ट्रार, चिकित्सा शिक्षा आयोगका निर्देशक र सदस्य सचिवको रुपमा चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखाका अधिकृत रहने गरी तोकिएको छ ।

समितिले दुवै देशमा अवस्थित चिकित्सा शिक्षा मापदण्ड र मान्यताबारे विस्तृत समीक्षा गर्नेछ । यसैगरी, दुवै देशका मेडिकल काउन्सिलका मापदण्ड अध्ययन गरेर दिव्पक्षीय सम्झौता तथा अन्त्यमा मन्त्रालयहरुबीच औपचारिक हस्ताक्षर गर्ने वातावरण तयार गर्न समितिलाई कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

गत असोजमा इण्डोनेसियाको जकार्तामा भएको क्षेत्रीय स्वास्थ्य सम्मेलनमा मन्त्री पौडेलको माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलिलबीच भेट भएको थियो । त्यसबेला माल्दिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो ।

माल्दिभ्सले नेपालले वातावरण बनाएमा विद्यार्थी अध्ययन गर्न पठाउने बताए पछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको दिव्पक्षीय मान्यता तथा प्रवद्र्धनका उपायबारे सुझाव दिन आग्रह गरेका थिए । सोहीअनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा दिव्पक्षीय सम्झौतापश्चात विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आसयको प्रतिवेदन दिएको थियो ।

मन्त्री पौडेलले ‘नेपालमा कम्तिमा सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउने वातावरण बनाउन आफू प्रयत्नरत भएको बताउँदै भने, ‘माल्दिभ्सबाट पनि सकारात्मक थालनी गर्ने योजना छ ।’

यो कार्यक्रम अघि बढेपछि चिकित्सा शिक्षा अध्ययनका लागि सार्क राष्ट्रका अरु विद्यार्थी पनि नेपाल आउने बातावरण बन्ने मन्त्रालयको बुझाई छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *