डा. विकास देवकोटा बने स्वास्थ्य सचिव
काठमाडौँ, २१ फागुन । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको सचिव पदमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस भएका तीन मध्ये डा देवकोटालाई सचिव बनाउने निर्णय गरेको हो ।
यसअघि सचिवका लागि नाम सिफारिस गर्न १२ फागुनमा बसेको बढुवा समितिको बैठकले डा देवकोटासंगै, डा संगिता मिश्रा र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका तीनै जना १२ औँ तहका हुन् ।
स्वास्थ्यमा प्रशासन र स्वास्थ्य समूहका गरी दुई जना सचिव रहने व्यवस्था छ । अहिले रिक्त भएको स्वास्थ्य समूहको सचिव हो । गत १२ फागुनमा ५ वर्षे कार्यकाल सकेर डा रोशन पोखरेल अनिवार्य अवकाशमा गएपछि स्वास्थ्यमा स्वास्थ्य समूहको सचिव पद रिक्त थियो ।
नव नियुक्त सचिव डा देवकोटा अहिलेसम्म स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए ।
सम्पर्क इमेल : [email protected]