बोरिङ बिग्रिएपछि त्रिवि शिक्षण अस्पतालमा पानीको अभाव

काठमाडौँ, २० फागुन । दुई वटा बोरिङ बिग्रिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पानीको समस्या भएको छ । अस्पतालले अहिले ट्याङ्कर तथा जारको पानीले काम चलाएको बताएको छ ।

यसअघि आफूहरुले तत्कालका लागि आवश्यक पानी दिई दिनुहोस भन्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई आग्रह गरे पनि निकै थोरै पानी पाउँदा समस्या बढेको बताएको छ ।

अस्पतालका निर्देशक प्राडा सुवासप्रसाद आचार्यले भने, ‘हिजो देखि नै हामीले निरन्तर रुपमा केयुकेएलसंग पानी मागेका हौँ । तर उहाँहरुले बेलुका तीन घण्टा मात्रै पानी छाडिदिनु भयो । यत्तिले हाम्रो समस्या टरेन ।’

केयुकेएलले भने शिक्षण अस्पतालमा आवश्यक भएमा पानी उपलव्ध गराईदिने बताएको थियो ।

निर्देशक डा आचार्यले धेरै पटक पानीका लागि आग्रह गरे पनि केयुकेएलले त्यसको राम्ररी सुनुवाई नगरेको बताए ।

‘टप लेभलका पहिलो दोस्रो पदाधिकारीहरुलाई जानकारी नै छ । मैले हिजो पनि पटक पटक यो कुरा भनेको छु । तर उहाँहरुले अस्पतालको सम्वेदनशीलता बुझ्नु भएन । दैनिक ८ लाख लिटर बढी पानी चाहिन्छ । तीन घण्टामा कसरी पुर्ती हुन्छ ?,’ प्रतिप्रश्न गर्दै उनले भने ।

निर्देशक डा आचार्यले पानी अभावकै कारण काममा केही असहजता भए पनि उपचार सेवा भने निरन्तर चलिरहेको बताए ।

उनले दुईवटा मध्ये एउटा बोरिङ आज बन्न सक्ने प्राविधिकहरुले बताएको समेत जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *