मेडिकल उपकरणको भन्सार दर १ प्रतिशतमा झारौँ : केमसान अध्यक्ष हमाल
'औषधी व्यवस्था विभागमा अहिले नै दर्ता हुन सम्भव छैन'
काठमाडौँ, १५ फागुन । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान)का अध्यक्ष भक्त हमालले मेडिकल उपकरण नागरिकको स्वास्थ्य उपचारमै प्रयोग हुने सामग्री हो भन्दै आयात गर्दा लाग्ने भन्सार दर घटाउन माग गरेका छन् ।
बिहीबार देखि काठमाडौँमा सुरु भएको ‘मेडिकल तथा ल्याब एक्स्पो -२०२५’ को उद्घाटन सत्रमा बोल्दै उनले औषधी आयातमा १ प्रतिशत भन्सार शुल्क लिने सरकारले मेडिकल उपकरण आयात गर्दा महंगो भन्सारसंगै मूल्य अभिबृद्धि कर (भ्याट) समेत जोडेर लिने गुनासो गरे । उनले यसले गर्दा मेडिकल उपकरण २० देखि ५० प्रतिशत महंगो पर्ने गरेको दावी गरे । यसैगरी उनले मेडिकल उपकरणमा हालसम्म नेपाल सत प्रतिशत सत् प्रतिशत नै आयातमुखी अवस्थामा रहेको भन्दै यसमा बार्षिक ३० अर्व माथिको कारोबार हुने बताए ।
उनले भने, ‘मेडिकल उपकरणको कुरा गर्दा स्वदेशमै बनेको वा उत्पादन भएको लगभग छैन नै सबै आयातमुखी हो, ३० अर्व बढीको उपकरण आयात हुन्छ । त्यसमा राज्यले भन्सार शुल्क र भ्याट जोडेर बार्षिक रुपमा अर्बौ उठाउँछ । यसले गर्दा उपकरण २० देखि ५० प्रतिशत महंगो हुन्छ । त्यसको भार कुनै न कुनै रुपमा जनता माथि नै पर्छ । त्यसैले औषधीमा जस्तै भन्सार शुल्क १ प्रतिशतमा झारौँ र भ्याट लिन बन्द गरौँ ।’
अध्यक्ष हमालले भारतसंगको खुल्ला सिमानाका कारण भन्सार छलेर उपकरणहरु तस्करीमा आउने र गुणस्तरमा समेत शंका हुने बताए ।
‘औषधी व्यवस्था विभागमा अहिले नै दर्ता हुन सम्भव छैन’
औषधी व्यवस्था विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरु आयात तथा बिक्री गर्नु अघि अब आफूकहाँ दर्ता हुनु पर्ने भन्दै गत ३० कात्तिकमा सूचना जारी गरेको थियो । विभागले त्यसबेला तीन महिना भित्र सबै यससंग सम्वन्धित व्यवसायीले दर्ता भईसक्नु पर्ने बताएको थियो । तर अवधी सकिदा एउटा पनि कम्पनीले दर्ता गरेनन् ।
बिहीबार एक्स्पो उद्घाटन सत्रमा प्रमुख अतिथि रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलकै अगाडी केमसान अध्यक्ष हमालले अहिलेको अवस्थामा विभागमा दर्ता गर्ने पक्षमा आफूहरु नरहेको बताए ।
उनले भने, ‘औषधी व्यवस्था विभागमा दर्ता हुने कुरा अहिलेका लागि सम्भव छैन । हाम्रो कारोवार पनि औषधीकै जति नै हुन्छ, हामीलाई पनि बरु दर्ता, नियमन तथा अनुगमन गर्ने छुट्टै विभाग बनाईदिनुहोला । हामी दर्ता भएर, गुणस्तर एकीन गरेर ढुक्कले व्यापार गर्न चाहन्छौँ ।’
सर्भसाधारणलाई सस्तो सुलभ र गुणस्तरीय उपचार सेवा प्रदान गर्न उपकरण आयात गर्ने व्यवसायीहरुले सन् २०१६ मा केमसान दर्ता गरेर काम गर्दै आएको भन्दै आफूहरुको व्यवसाय नाफाका लागि मात्रै नभई सेवामुखी भएको समेत दावी गरे ।
उनले राज्यले अलिकति नीतिगत रुपमा सहुलियत दिएमा तत्काल नै ३० देखि ४० प्रतिशत उपकरण उत्पादन स्वदेशमै हुने दावी गर्दै निजी क्षेत्रलाई लगानी गर्ने बातावरण मिलाईदिन समेत सरकारसंग अनुरोध गरे ।
भृकुटीमण्डपमा आजबाट सुरु भएको एक्स्पो आगामी तीन दिनसम्म चल्नेछ । जहाँ नेपाल तथा भारतबाट आएका व्यवसायीहरुले आफ्ना उपकरण तथा सामग्रीहरुको प्रर्दशनी गरेका छन् ।
यो पनि हेर्नुहोस्……………
सम्पर्क इमेल : [email protected]