प्रधानमन्त्रीद्धारा नेपाल मेडिकल कलेजको नवनिर्मित डेन्टल कलेज भवन उद्घाटन
मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन् । मंगलबार कलेजमा आयोजित विशेष समारोहकाबीच नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यमा नयाँ भवन उपयोगी हुने बताएका छन् ।
उनले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुनुनपर्ने बताएका छन् ।
उनले सरकार देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए ।
“खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । तर तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भने, “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । एसइईमा ५२ प्रतिशत अनुत्तिर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले एसइइमा धेरै संख्यामा विद्यार्थी अनुत्तिर्ण हुने गरी पढाउने शिक्षकलाई तलव बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए ।
आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारीरुपमा काम हुन नसकेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गरेका थिए ।
नेपाल मेडिकल कलेजले हालसम्म एमबीबीएसमा २ हजार २६२ जना, बीडीएसमा ३३५ जना एमडी/एमएस र एमडीएसमा ३२४ जना, विशिष्टीकृत सेवा अन्तर्गत डीएम/ एमसीएचमा ८ जना, बीएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा २०८ गरी स्थापनाकाल हालसम्म ४ हजार ९८ जना प्राविधिक जनशक्ति उत्पादन गरेको जनाएको छ ।
कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी थिए ।
सम्पर्क इमेल : [email protected]