स्वास्थ्य बीमा देखिएका बिकृति हटाउने काम भइरहेको छ : स्वास्थ्य मन्त्री पौडेल
काठमाडौं, १२ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका बिकृति हटाउने गरी काम भैरहेको बताएका छन् । स्वास्थ्य बीमाको रकम तिर्न सकिदैन भन्ने अभिव्यक्ति विवादमा परेपछि मन्त्री पौडेलले आज यस्तो बताएका हुन् ।
सोमबार उनले स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताए ।
संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भैरहेको बताए ।
मन्त्री पौडेलले केही दिनअघि एक कार्यक्रममा यही विषयमा विकृतिका उदाहरणसहित बोलेको अभिव्यक्ति मध्ये यसरी सकिंदैन भन्ने क्लिपहरु मात्र अहिले सञ्चारमाध्यममा भाइरल बनेको भन्दै आपत्ति जनाए । आफूले स्वास्थ्य बीमामा विकृति देखिएका कारण विनियोजित बजेटले खर्च नधान्ने अवस्था रहेकामा विकृति हटाउँदै नीतिगत सुधार गर्ने काम भैरहेको समेत दावी गरे ।
आजै मात्रै संसदमा पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी सांसद डा तोसिमा कार्कीले स्वास्थ्य बीमाका विषयमा स्वास्थ्य मन्त्री पौडेलले हालै दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएकी थिईन् । उनले मन्त्री पौडेललाई स्वास्थ्य बीमा अलपत्र पार्ने काममा उद्धत रहेको आरोप समेत लगाएकी थिईन् ।
सम्पर्क इमेल : [email protected]