को होला नयाँ स्वास्थ्य सचिव ?

बढुवा समितिले नयाँ स्वास्थ्य सचिव सिफारिस लागि प्रक्रिया अघि बढायो

काठमाडौँ, १२ फागुन । स्वास्थ्यमा आजबाट रिक्त भएको स्वास्थ्य समूहको सचिव नियुक्तिका लागि नाम सिफारिस गर्न बढुवा समितिले काम सुरु गरेको छ ।

आज विहानै लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आज बसेको बढुवा समितिको बैठकले सचिवका लागि योग्यता पुगेका व्यक्तिहरुको विवरण माग गर्ने निर्णय गरेको हो ।

यो समितिले योग्यता पुगेका व्यक्तिहरुको विवरण माग गरि अध्ययन् गरेर अन्तिममा तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ । मन्त्रिपरिषद्को बैठकले त्यसमध्येबाट एक जनालाई सचिव नियुक्त गर्ने निर्णय गर्नेछ ।

कानून त सचिव पद रिक्त भएको १५ दिन भित्र बढुवा समितिले नाम सिफारिस गरिसक्नु पर्ने हुन्छ ।

समितिले यसपटक पहिलो दिनमै बैठक बसेर विवरण माग गर्ने निर्णय गरेपछि यसपटक सोचेभन्दा छिटो सचिवका लागि नाम सिफारिस हुने अनुमान गरिएको छ ।

सचिवका लागि योग्यता कति ?

स्वास्थ्य सेवा ऐन २०५३ को दफा १९ मा सचिवको नियुक्ति सम्वन्धी व्यवस्था उल्लेख छ । सो दफाको उपदफा १ मा भनिएको छ, प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि स्वास्थ्य सेवाको बाह्रौँ तहमा कार्यरत वा एघारौँ तहमा कम्तिमा पाँच वर्ष काम गरेको कर्मचारी जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हन सक्नेछ ।

यस्तै उपदफा १ (क)मा भनिएको छ, उपदफा १ बमोजिम सचिव पदमा नियुक्ति हुनका लागि नेपाल सरकारले तोकेको उच्चस्तरीय व्यवस्थापन तालीम उत्तीर्ण गरेको हुनु पर्नेछ ।

स्वास्थ्यमा अहिले नै १२ औँ तहका तीन जना कर्मचारी छन् । एघारौँ तहमा पाँच वर्ष पुगेर उच्चस्तरीय व्यवस्थापन तालीम लिएका कर्मचारीहरुको संख्या पनि ठूलो छ । त्यसैले समितिले सबैको विवरण माग गरेको हो ।

‘माथि उल्लेखित योग्यता पुगेका व्यक्तिले सचिवका लागि दावि प्रस्तुत गर्न पाउने नै भए । तर समितिले तीन जनाको नाम सिफारिस गर्ने हो । त्यसमा बाह्रौँ तहका तीन जना नै प्रमुख दावेदार हुने होलान्,’ स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने ।

बाह्रौँ तहका तीन प्रतिस्पर्धी को को हुन् ?

अहिले सचिवका लागि प्रतिस्पर्धा र चर्चामा रहेका १२ औँ तहका अधिकृतहरुमा डा संगिता कौशल मिश्रा, डा विकास देवकोटा र डा टंक बाराकोटी हुन् । ऐनले तोकेको योग्यताका आधारमा यी तीन जना नै सचिवका लागि योग्य देखिन्छन् ।

सेवा प्रवेश र अनुभवको हिसावले डा देवकोटा अगाडी मानिन्छन् । तर १२ औँ तह बढुवालाई आधार मान्ने हो भने डा मिश्रा डा देवकोटा र बाराकोटी भन्दा केही अघि देखिन्छिन् । डा मिश्रालाई २१ असार २०७९ को मन्त्रिपरिषद् बैठकले १२ औँ तहमा बढुवा गरेको हो भने डा देवकोटा र डा बाराकोटी १० चैत २०७९ मा बसेको मन्त्रिपरिषद् बैठकबाट बढुवा भएका हुन् ।

यद्धपी तीन जनाकै आ आफ्ना योग्यता र दक्षता भएका कारण तीनै जना प्रतिस्पर्धामा खरो उत्रन सक्ने अवस्थामा रहेको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

कसरी हुन्छ बढुवा सिफारिस ?
सचिवका लागि नाम सिफारिस गर्न लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सदस्य बढुवा समितिको अध्यक्ष हुने प्रावधान छ ।

सो समितिमा लोक सेवा आयोगको अध्यक्षले तोकेको आयोगको सदस्य एक जना, मुख्य सचिव, लोक सेवा आयोगद्धारा मनोनीत सम्वन्धित विषयको विशेषज्ञ एक जना र सामान्य प्रशासन मन्त्रालयको सचिव सदस्य सचिव रहने प्रावधान छ ।

यो समितिले योग्यता पुगेका व्यक्तिहरुसंग विवरण माग गरी सबैभन्दा उत्कृष्ठ तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने छ । मन्त्रिपरिषद्ले तीन मध्ये एक जनालाई सचिवमा नियुक्त गर्नेछ ।

१२ औँ तहमा बढुवा भएको र सचिव बनेको गरी कुल ५ वर्षे अवधी पुरा गरी डा रोशन पोखरेल हिजो स्वास्थ्य मन्त्रालयबाट विदाई भएका थिए ।

उनीसंगै १२ औँ तहमा पाँच वर्षको अवधी पुरा गरेका डा दीपेन्द्ररमण सिंह पनि हिजो नै स्वास्थ्यबाट अवकाशमा निस्किएका छन् । अब समितिले सचिवसंगै रिक्त १२ औँ तहका लागि नाम सिफारिस गर्न पनि विवरण माग गर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *