कानूनको धज्जी उडाउदै नेपाल लिटरेचर फेस्टिबल आयोजक, फेरी पनि सुर्ती उद्योगको प्रायोजनमा कार्यक्रम गर्दै
सरोकारवालाको आपत्ति
काठमाडौँ, १२ फागुन । नेपालमा कानून उल्लङ्घन गर्दा कार्वाहीको साटो सरकारबाट रातो कार्पेटमा स्वागत र सम्मान पाउने सुर्ती उद्योग हो । केही पैसाको लोभमा सरकारी अधिकारीहरु विगत देखि नै सुर्ती उद्योगको हर्कतलाई आँखा चिम्लेर कार्वाहीको साटो स्वागत गर्न तल्लीन हुँदै आएका छन् ।
त्यहि बाटोमा अहिले नेपाल लिटरेचर फेस्टिबलका आयोजक टिम लागेको छ ।
पोखरामा हुँदै आएको अघिल्लो दुई संस्करणमा कानून विपरित सुर्ती उद्योगको स्पोन्सर (प्रायोजक) लिएका फेस्टिबल आयोजकलाई सरकारले कार्वाही नगरेपछि उनीहरु थप हौसिएका हुन् ।
आगामी १५ फागुन देखि सुरु हुन लागेको फेस्टिवलको १२ औँ संस्करणमा पनि आयोजक बुकवर्म फाउण्डेशनले नेपालकै प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपालको स्पोन्सर लिएर कार्यक्रम गर्दैछ ।
अघिल्ला दुई वर्ष ‘टाइटल स्पोन्सर’ भएको चुरोट कम्पनी सूर्य नेपाललाई यसपटक आयोजकले ‘इभिनिङको म्युजिकल सेसन’को स्पोन्सरको रुपमा मिसाएका छन् ।
अचम्मको कुरा त के छ भने सुर्ती उद्योगको स्पोन्सर समेत रहेको कार्यक्रमको उद्घाटन सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्दैै छन् ।
पोखरा महानगर, गण्डकी प्रदेश सरकार सह आयोजक बनेको कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्री, पूर्व स्वास्थ्य मन्त्री, बरिष्ठ चिकित्सक देखि क्यान्सर विजेता, अभियन्ता र पछिल्लो पटक एचपीभी खोपको दुत समेत बनेकी मनिषा कोइराला लगायतका सार्वजनिक व्यक्तित्वहरु सहभागी हुने बताइएको छ ।
सुर्ती उद्योगको स्पोन्सर किन कानून विपरित ?
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’
यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा ४० मा उत्पादकलगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसको लोगो, संकेत, चिन्ह, कुनैपनि तरिकाबाट सुर्तीजन्य पदार्थको प्रबर्द्धन गर्न वा कुनै कार्यक्रम प्रायोजन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सुर्ती उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सुर्ती उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा सुर्ती उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन ।’
सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न किन आवश्यक छ ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ अर्थात् प्रति घण्टा ४ जना भन्दा धेरै मानिसहरुले ज्यान गुमाईरहेका छन् । जुन संख्याले नेपालको जम्मा मृत्युको १९.४१ प्रतिशत ओगट्छ ।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने किसिमका रोगहरु जस्तै क्यान्सर, श्वासप्रश्वास सम्वन्धि रोगहरु लगायत विभिन्न मुटु सम्बन्धि रोगहरु लाग्ने गर्दछ ।
त्यसलाई नियन्त्रण गर्न सरकारले १३ वर्ष अघि सुर्तीजन्य पदार्थको सेवन न्यूनीकरण नियन्त्रण तथा नियमनका लागि सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०७१ समेत कार्यान्वनमा ल्याइसकेको छ ।
सरकारलाई थाहा नभएको हो त ?
यसपटक पनि सरकारका बहालवाला मन्त्री, प्रवक्ता नै प्रमुख अतिथि बनेर फेस्टिबलको उद्घाटन गर्दैछन् । यस्ता कार्यक्रम सुर्ती उद्योगले प्रायोजन गर्न नमिल्ने भन्ने उनलाई थाहा नभएको हो त ? पक्कै होइन ।
किनभने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि पनि फेस्टिबल आयोजकलाई सुर्ती उद्योगको प्रायोजनमा कार्यक्रम गर्नु कानून विपरित हुने भनेर ध्यानाकर्षण पत्र पठाएको थियो । सुर्तीजन्य पदार्थ विरुद्धका अभियानमा क्रियाशिल संस्थाहरुले पनि पटक पटक यस्ता गतिविधिका विरुद्धमा कानूनका धारा समेत उल्लेख गरी कानून विपरित हो भनेर भनि नै रहेका छन् ।
गत भदौको तेस्रो साता ललितपुरमा भएको कलिङ लिटरेरी फेस्टिबलमा सूर्य नेपालको स्पोन्सर भएको थाहा पाएपछि प्रमुख अतिथि बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कार्यक्रम बहिस्कार गरेका थिए । त्यसबेला सञ्चारमाध्यममा समाचार आएपछि मन्त्रीसंगै कार्यक्रममा सहभागी सार्वजनिक ओहोदाका वक्ताले समेत कार्यक्रम रद्ध गरेका थिए ।
यसपटक पोखरामा हुन लागेको कार्यक्रम तय भएका अतिथि तथा वक्ताहरुले कार्यक्रम रद्ध गर्छन् कि गर्दैनन् त्यो भने हेर्न बाँकी नै छ ।
सरोकारवालाको आपत्ति
फेस्टिवलमा फेरी पनि सुर्ती उद्योगको स्पोन्सर हुने देखिएपछि सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा क्रियाशिल संस्था एक्सन नेपालले पहिलो प्रतिक्रिया दिएको छ । एक्सन नेपालका तर्फबाट पामिर गौतमले आइतबार अपरान्ह जारी विज्ञप्तीमा सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकौंको अनुसन्धानले देखाएको भन्दै यहि कारण अधिकांश देशहरुले सुर्तीउद्योगहरुलाई कुनै पनि प्रकारको विज्ञापन, प्रवर्दन र प्रायोजन गर्न प्रतिवन्ध लगाएको उल्लेख छ ।
विज्ञप्तीमा नेपालले पनि यसका लागि ऐन, निर्देशिका बनाएको र कानूनी रुपमा यस्ता गतिविधि गर्न प्रतिबन्ध लगाएको स्मरण गराईएको छ । आफूलाई सामाजिक रुपमा जिमेवार पात्रको रुपमा प्रस्तुत गर्ने दवाव र आफ्नो उपस्थितिको प्रचारप्रसारको खोजीमा रहेका सुर्ती उद्योगहरुले संस्थागत सामाजिक उत्तरदायित्वको प्रावधानलाई दुरुपयोग गर्दै आफ्नो वैद्यानिकता प्राप्त गर्ने प्रयास गरेको समेत उल्लेख छ ।
एक्सन नेपालले हजारौं मानिसहरुको ज्यान बचाउने उदेश्यले ल्याइएको सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानून विपरीत पोखरामा हुन लागेको नेपाल लिट्रेचर फेस्टिवल २०२५ मा सूर्य नेपाललाई सामेल गराएर आयोजकले सुर्ती उद्योगको पापलाई ढाक्ने काममा तिनीहरुलाई सहयोग मात्र गरेको छैन, सूर्य नेपालले सेसन स्पोन्सर गर्ने भएकोमा आफू हर्षित रहेको प्रतिक्रिया दिएर आफ्नो वौद्धिक दरिद्रताको परिचय समेत दिएको छ ।
यस्तै नेपाल अर्बुद रोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले पनि संयुक्त रुपमा विज्ञप्ती जारी गदै नेपाल लिटरेचर फेस्टिभलमा सुर्ती उद्योगको स्पोन्सर लिई लिई आयोजकले कानूनको धज्जी उडाएको टिप्पणी गरेका छन् ।
‘सुन्दर कार्यक्रमको असुन्दर फुली’ भन्दै जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘यो सुन्दर साहित्यिक उत्सवलाई सूर्य नेपाल कम्पनीले समेत प्रायोजन गरेको तथ्यले भने अनेक प्रश्नहरू जन्माएको छ। साहित्य भनेको समाजको ऐना हो। यसले विकृतिहरू उजागर गर्छ, चेतनाको प्रकाश फैलाउँछ, अनि समाजका नक्कली मुखौटाहरू खोल्ने सामर्थ्य राख्छ। तर यही साहित्यिक पर्वमा सूर्य नेपाल जस्तो कम्पनी, जसको प्रमुख उत्पादन सुर्तीजन्य पदार्थ हो, किन एक प्रायोजकका रूपमा उभिएको छ’ के यसको कारण केवल आर्थिक पक्षसँग मात्र जोडिएको हो, वा यसको पछाडि कुनै गहिरो रणनीति लुकेको छ ?’
नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यक्रम संयोजक, डा. जय कुमार गुरुङ र नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव दिपेन्द्र बान्तवाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘सामाजिक उत्तरदायित्वु को नाममा व्यवसायिक कम्पनीहरूले आफ्नो बास्तविक उद्देश्य लुकाउन खोज्ने प्रवृत्ति देखिन्छ। सुर्तीजन्य उत्पादन गर्ने कम्पनीहरूले कला संस्कृति, स्वास्थ्य र खेलकुद जस्ता क्षेत्रमा लगानी गरेर आफ्नो छवि सुधार्ने प्रयास गरिरहेका छन्। तर के समाजका सचेत वर्गले यसको सही मूल्यांकन गर्न सकेका छन् ?’
‘यो फेस्टिभलमा नेपालका ख्यातिप्राप्त साहित्यकार, बौद्धिक व्यक्तित्व र विशिष्ट अतिथिहरूको उपस्थिति थियो। तर आयोजकहरूले कुन आधारमा प्रायोजक छनोट गर्छन् ? के साहित्यिक महोत्सवको उद्देश्य केवल कृतिहरूको अनावरण गर्नु मात्र हो ? यदि यसको मूल लक्ष्य समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो भने, यस्तो कम्पनीलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नु गम्भीर अन्तरविरोध होइन ?’ विज्ञप्तीमा भनिएको छ ।
सम्पर्क इमेल : [email protected]