नेपाल मेडिकल कलेजले शेयरधनीलाई ३० प्रतिशत बोनस दिने

काठमाडौं, ११ फागुन । नेपाल मेडिकल कलेजका शेयरधनीले ३० प्रतिशत मुनाफा पाउने भएका छन् । कलेजको शनिबार सम्पन्न २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को खूद मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७ सय ४७ रुपैंया कर सहितको नगद लाभांश स्वीकृत गरेको छ । साथै, साधारण सभाले यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित समेत गरेको छ ।

यसैबीच कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताएका छन् । कलेजको २५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष प्राडा अन्सारीले मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष प्राडा अन्सारीले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य सेवामा पुर्‍याउँदै आएको योगदानको कदर गर्नुपर्ने बताए ।

सरकारले जनताका लागि ल्याएको निःशुल्क स्वास्थ्य सेवाका अभियानहरु सफल पार्न निजी मेडिकल कलेजहरुले महत्वपूर्ण योगदान दिएको उनको भनाई छ । प्राडा अन्सारीले कलेजमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य कार्यक्रम, सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम, कर्मचारी सञ्चय कोष स्वास्थ्य कार्यक्रम, नेपाल सरकार बीमा कार्यक्रम तथा विपन्न नागरिकको स्वास्थ्य सेवा कार्यक्रम सूचारु रहेको जानकारी दिए ।

प्राडा अन्सारीले कलेजले दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा चिकित्सा क्षेत्रमा नविन सोध र अनुसन्धानहरु गर्न टेवा दिएको जिकीर गरे ।

कलेजको वार्षिक प्रतिवेदन पेश गर्दै उनले आगामी आर्थिक वर्षभित्रै मुटु रोगको उपचारका लागि क्याथ ल्याब, क्यान्सर उपचारका लागि अंकोलोजी सेवा विस्तार गरिने जानकारी दिँदै ३.५ टेस्ला एमआरआई र १२८ स्लाइसको सिटी क्यान उपकरण केही महिनाभित्रै जडान हुने बताए ।

उनले चिकित्सा शिक्षातर्फ नयाँ विषयहरु थप गरिएको, सिट संख्यामा बृद्धि भएको पनि जानकारी दिए । भौतिक पूर्वाधारमा डेण्टल कलेजको नयाँ भवन निर्माण सम्पन्न भई सूचारु भइसकेको, सी ग्रेडको ल्याबलाई बी ग्रेडमा अपग्रेट गरिएको, अस्पताल भित्रै २४ ब्लड बैंक स्थापना गरिएकोले आउँदा दिनहरुमा कलेजको स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा थप बृद्धि हुने विस्वास व्यक्त गरे ।

साधारण सभामा बोल्दै कलेजका प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नेपाल मेडिकल कलेजको शैक्षिक, स्वास्थ्य क्षेत्र र प्रशासनिक सेवा सुधार्न आफुहरुले चालेका योजनाहरु सफल हुँदै गएको र त्यसमा सबैले साथ सहयोग गरेको बताईन् । आगामी दिनहरुमा कलेजलाई नयाँ उचाईमा पुर्‍याउन सबैको सकारात्मक सल्लाह सुझाबको अपेक्षा गरिएको उनको भनाई छ ।

साधारण सभामा कलेजका सञ्चालक समिति सदस्य डा। भोला रिजाल, डा। आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारीले पनि सबैको सहकार्य र सहयोगले कलेज अगाडी बढाउने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *