फागुन महिना भर नसर्ने रोगहरुको पहिचानका लागि अभियान सुरु गर्दै सरकार
काठमाडौँ, ३० माघ । सरकारले फागुन महिनाभर नसर्ने रोगहरुको पहिचानका लागि अभियान- २०८१ सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अगुवाईमा हुन लागेको यो अभियानमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग परीक्षण गरिनेछ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार यो अभियानमा देशभर बसोबास गर्ने ३० वर्ष भन्दा माथि उमेरका सबै व्यक्तिहरुको मधुमेह, उच्चरक्तचाप र मिर्गौला सम्वन्धि रोग एवं शरीरको उचाई र तौलको अनुपात (बीएमआई) पत्ता लगाई सम्भावित जोखिम घटाउने उदेश्य रहेको छ ।
यसैगरी अभियान सबै स्वस्थ रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वहरु जस्तै मोटोपना, धुम्रपान तथा मध्यपान नियनत्रण र नुनको अत्याधिक प्रयोगमा कमि ल्याउन मद्दत गर्ने कार्यक्रम समेत अघि बढाईने उल्लेख छ ।
यसअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उपचारात्मक सेवामा सुधारसंगै निरोधात्मक विधि प्रर्वद्धर्न गर्ने नीति अघि सार्दै नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि फाल्गुन महिनामा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप र मृगौला रोग) को पहिचानका लागि अभियान – २०८१ संचालन गर्ने निर्णय गरेका थिए ।
“नसर्ने रोगहरु पहिचानका लागि एक महिने अभियान संचालन निर्देशिका – २०८१” अनुसार स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट फाल्गुन महिना भर नसर्ने रोगको अवस्था पहिचान गर्न लक्षित उमेर समुहका व्यक्तिहरुको स्वास्थ्य परिक्षणका साथै स्वास्थ्य प्रवर्धन तथा जोखिम न्यूनीकरणका लागि बृहत क्रियाकलापहरु सबै प्रदेश र स्थानीय तह मार्फत अघि बढाउने निर्णय भएको थियो ।
त्यसो त नेपालको संविधानको धारा ३५ मा राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सम्बन्धमा हरेक नेपाली नागरिकलाई समान हक, दायित्व बोध गराएको अवस्था छ। जनस्वास्थ्य सेवा ऐन २०७५ मा निर्दिष्ट भए बमोजिम नसर्ने रोग विरुद्धको लडाईमा नेपाल सरकारका सामाजिक सुरक्षा तथा नीति, कार्यक्रमहरू, नेपालले विभिन्न समय समयमा गरेका अन्तराष्ट्रिय प्रतिबद्धताहरु, चुनौतीहरू र उपलब्ध स्रोतसाधनलाइ आधार बनाई गरेका कार्यक्रममा नसर्ने रोग रोकथाम र नियन्त्रणलाइ उच्च प्राथमिकतामा राखेको छ ।
हुन पनि नसर्ने रोग विश्वभरि रोग र मृत्युको प्रमुख कारणहरू मध्ये एक हो। नेपालमा पनि नसर्ने रोगहरुको कारण बिरामी हुने एबम मृत्यु हुनेहरुको अनुपात बढ्दै गैरहेको छ क्ष् इडीसीडीले नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको उल्लेख गरेको छ ।
बदलिँदो जीवनशैली, बढ्दो शहरीकरण, परिवर्तित जनसंख्याको अनुपात, जलवायु परिवर्तन जस्ता विविध कारणहरुले नसर्ने रोगको सस्मया नेपालमा झनै बढ्दो क्रममा रहेको छ। यस्ता अवस्थाले विशेष गरी न्यून / मध्यम आय भएका देशहरू जहाँ रोकथाम, निदान, र उपचारका लागि स्रोतहरू प्रायस् सीमित भएको कारणले जन स्वास्थ्य चुनौती सिर्जना गरेको बताएको छ ।
नेपाल सरकारले नसर्ने रोग सम्बन्धि जनचेतनाका कार्यक्रमका साथै अन्य विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ।
सोही अभियान अन्तर्गत नसर्ने रोगहरूको नियन्त्रणका लागि नेपालमा सन् २०१६ देखि प्याकेज अफ इसेन्सियल नन् कम्युनिकेवल डिजिज (पेन) कार्यान्वयनमा आएको छ । यसमा नसर्ने रोगका कारणले हुने तर रोक्न सकिने स्वास्थ्य समस्या, अपाङ्गता तथा अकाल मृत्यु न्यूनिकरण गर्ने उद्धेश्यले नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१-२०२५ मा आधारित रहेर पेन प्याकेजको विकास गरिएको हो ।
नसर्ने रोगहरुको बढ्दो भारलाइ मध्यनजर गर्दै सामुदायिक सहभागिता सहित अभियानको रुपमा स्थानीय तहबाटै स्वास्थ्य प्रबर्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाइ व्यवस्थित गर्न आबश्यक रहेको इडिसिडीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]