एचपीभी खोप अभियान : पहिलो दिन कभरेज दर १३ प्रतिशत बढी
काठमाडौँ, २३ माघ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानको पहिलो दिन हिजो २ लाख १६ हजार बढी किशोरीले खोप लिएका छन् । यो लक्षित समूह संख्याको १३ प्रतिशत भन्दा बढी हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले एचपीभी खोप अभियानको उत्कृष्ठ सुरुवात भएको प्रतिक्रिया दिए ।
‘पहिलो दिन नै १३ प्रतिशत भन्दा बढी खोप कभरेज हुनु ऐतिहासिक नै हो । यसअघि यति धेरै कभरेज पहिलो दिन भएको थिएन । त्यसैले हामी अत्यन्तै उत्साहित छौँ,’ खुशी हुँदै उनले भने ।
डा. गौतमले श्रीपञ्चमीको दोस्रो दिन तराईका धेरै विद्यालयहरुमा विशेष कार्यक्रम हुने भएकोले हिजो पूर्ण रुपमा सञ्चालन हुन नपाएको भन्दै आजबाट तराईमा व्यापक रुपमा अभियान सुरु हुने अनुमान गरेको बताए ।
यस्तै कतिपय हिमाली जिल्लामा बढी चिसोका सहज ढंगले कार्यक्रम अघि बढ्न नसकेको जानकारी दिए । उनले भने, ‘हिमाली जिल्लाका कतिपय स्थानमा केही समय लाग्न सक्छ । अन्यत्र उत्साह जनक ढंगले यो कार्यक्रम अघि बढेको छ ।’
उनले अभियानमा प्रधानमन्त्री, स्वास्थ्य मन्त्रीको विशेष सक्रियताले पनि सहज ढंगले अघि बढेको बताए ।
खोपका क्रममा कसैलाई सामान्य प्रतिक्रिया देखिने गरेको भन्दै त्यसलाई सामान्य ढंगले बुझ्नु पर्ने बताए । ‘कसैलाई सामान्य रिंगाटा लाग्यो, दुख्यो भन्ने पनि पनि सुनिएका छन् । यी सामान्य लक्षण हुन् । यसमा आत्तिनु पर्दैन । खोप सुरक्षित छ ढुक्कले लिदा हुन्छ,’ डा. गौतमले भने ।
हिजो देखि सुरु भएको खोप अभियान आगामी ६ फागुनसम्म देशभरि एकैपटक सञ्चालन हुँदैछ । अभियान अन्तर्गत देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका अभियानमा १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने सरकारको तयारी छ ।
सम्पर्क इमेल : [email protected]