कान्तिपुर डेन्टल अस्पताल पोखराले मनायो रजत जयन्ती

गण्डकी प्रदेशवासीको मुख तथा दन्त स्वास्थ्यमा कान्तिपुर डेन्टलको योगदान उच्च : स्वास्थ्य मन्त्री पाठक

पोखरा, २१ माघ । कान्तिपुर डेन्टल अस्पताल तथा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साईन्सेज पोखराको २५ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । स्थापनाको २५ वर्ष पुगेको अवसरमा आज अस्पतालको रजत जयन्ती समेत मनाईएको छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल काठमाडौँकै भगिनी संस्थाको रुपमा पोखरामा स्थापित कान्तिपुर डेन्टल अस्पताल २०५६ माघ २१ देखि सेवारम्भ गरेको थियो । त्यसको छ वर्ष पछि दन्त स्वास्थ्य जनशक्ति उत्पादन गर्न भन्दै कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साईन्सेज सञ्चालनमा आएको हो ।

‘अढाई दशक वितेको पत्तै भएन, हामीले यसबीचमा अस्पतालबाट तीन लाख बढीलाई दन्त सेवा दिन सफल भयौँ, समुदाय तथा विद्यालयमा शिविरमार्फत उपलव्ध गराएको सेवाको गणना गर्दा त्यो भन्दा कयौँ गुणा बढी हुन्छ । जे होस् हाम्रो संस्था गण्डकी प्रदेशको प्रतिष्ठित संस्था बनेको छ,’ अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने ।

गण्डकी प्रदेशवासीको मुख तथा दन्त स्वास्थ्यमा कान्तिपुर डेन्टलको योगदान उच्च : स्वास्थ्य मन्त्री पाठक

सोमबार कान्तिपुर डेन्टल अस्पतालको रजत जयन्तीको उद्घाटन गर्न पुगेका गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रदेशवासीको मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा कान्तिपुर डेन्टलको योगदान उच्च रहेको बताए ।

‘यो हाम्रो प्रदेशकै प्रतिष्ठित संस्था हो, यसले प्रत्यक्ष रुपमा यस क्षेत्रका हजारौँ लाखौँ नागरिकलाई मुख तथा दन्त स्वास्थ्य सेवा दिएको छ । हामी रजत जयन्तीमा म आफै प्रमुख अतिथि बनेर सहभागी हुन पाउँदा खुशी लागेको छ,’ मन्त्री पाठकले भने ।

उनले प्रदेश सरकार पनि एघार वटै जिल्लामा मुख तथा दन्त स्वास्थ्य कार्यक्रम विस्तार गर्न लागिरहेको भन्दै कतिपय अवस्थामा कान्तिपुरसंग सहकार्य गरेर अघि बढ्न सकिने समेत बताए । उनले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई आफूले सिकेको शिप र ज्ञान स्वदेशमै प्रयोग गर्न आग्रह समेत गरे ।

 

कार्यक्रममा सांसद सुनिता थापाले दोभाषेको प्रयोग गर्दै २५ वर्ष सेवा दिएकोमा कान्तिपुरको प्रसंशा गरिन् । उनले अस्पतालहरु अपांगता भएका व्यक्तिमैत्री हुनुपर्ने भन्दै त्यसो नहुँदा धेरै अपांगता भएका व्यक्तिहरुले सेवा लिन गाह्रो भएको बताईन् । उनले कान्तिपुरलाई पनि सो कुरामा ध्यान दिन आग्रह गरिन् ।

पोखरा विश्वविद्यालयका डीन प्राडा अमर नागिलाले आफ्नो विश्वविद्यालयले व्याचरल अफ डेन्टल हाइजिन कार्यक्रम कान्तिपुर डेन्टलसंग मिलेर गर्न इच्छुक रहेको बताए ।

कान्तिपुरलाई पोखरामा स्थपित गर्न विशेष भूमिका खेलेका रोटरियन उर्दिप श्रेष्ठले विगत सम्झँदै त्यसबेला देखिको अविछिन्न सेवाले कान्तिपुर डेन्टल आज यो स्थानमा आएको बताए । उनले पोखरामा १ जना मात्रै दाँतको डाक्टर भएको र सेवाका लागि काठमाडौँ जानुपर्ने बाध्यता भएपछि आफूले डा बुद्धिमानसंग पोखरामा ब्रान्च खोल्न अनुरोध गरेको र त्यसले सार्थकता पाएको सुनाए ।

अस्पताल तथा इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले विगत २५ वर्ष देखि सेवाका लागि विश्वास गरेका सेवाग्राही र सेवा दिनका लागि दत्तचित्त भएर खटिएका आफ्ना स्वास्थ्यकर्मी तथा कर्मचारी धन्यवाद दिए ।

उनले भविस्यमा सेवालाई थप व्यवस्थित विकसित रुपमा प्रस्तुत गर्ने भन्दै रजत जयन्तीका अवसरमा माघ महिनाभर उपपचार तथा परीक्षणमा छुट सुविधाहरु रहेको सुनाए ।

कार्यक्रममा नेपाल डेन्टल एशोसिएशन कास्कीका अध्यक्ष डा सपना लक्ष्मी तुलाधर, मन घले (कादुरी), नोवेल एकेडेमीका अध्यक्ष बिशेश्वर आचार्य डा. बिशाल गुरुङ लगायतले पनि संस्थाको सफलताको शुभकामना दिएका थिए । यस्तै इन्स्टिच्युटका प्रिन्सिपल श्रेया थापा, फ्याकल्टीका तर्फबाट हिमलाल भुसाल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा ५ वर्ष भन्दा माथि सेवा दिएका १९ जना कर्मचारीलाई विशेष प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *