भारतमा चलिरहेको कुम्भमेलामा भागदौड हुँदा १० बढीको मृत्यु, ठूलो संख्यामा घाइते भएको अनुमान
काठमाडौँ, १६ माघ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा भएको भागदौडमा १० भन्दा बढी भक्तजनको ज्यान गएको छ । अत्यधिक भीडमा मच्चिएको भागदौडमा सयौँ व्यक्ति घाइते भएको बताइएको छ । यो घटना अमृत स्थान पर्व मौनी अमावश्य औसीको अघिल्लो दिन भएको हो ।
भागदौड घटनापछि उद्धार कार्यका लागि प्रधानमन्त्री मोदीले चासो व्यक्त गरेका छन् । पछिल्लो दुई घण्टा भित्र मोदीले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथसंग कुराकानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गत १३ जनवरी देखि सुरु भएको महाकुम्भ मेलामा अहिलेसम्म २० करोड बढी भक्तजनले प्रयागराज पुगेर गंगास्नान गरेको बताइएको छ । आज मात्रै मौनी अमावश्या औसीका दिन १० करोड बढी भक्तजन ले अमृत स्नान गर्ने अनुमान गरिएको छ । तर यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ ।
यता भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ ।
कुम्भ मेलामा अमृत स्नानका लागि भन्दै नेपालबाट पनि भक्तजन प्रयागराज पुगेका छन् ।
सम्पर्क इमेल : [email protected]