पूर्वखोला गाउँपालिकामा सञ्चालनमा आयो कोल्डचेन सप्लाई सेन्टर
पाल्पा, १५ माघ । पूर्वखोला गाउँपालिकामा कोल्डचेन सप्लाई सेन्टर सञ्चालनमा आएको छ ।
स्वास्थ्य सेवा विभागको सहयोगमा प्राप्त दुईवटा आइस लिनेड रेफ्रिजरेटर (आईएलआर) गाउँपालिकाको वडा नं ५ स्थित वीरकोट स्वास्थ्य चौकीमा जडान गरिएको थियो ।
सोमबार एक कार्यक्रमकाबीच सोही आईएलआरको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले उद्घाटन गर्दै कोल्ड चेन सप्लाई सेन्टरको औपचारिक शुभारम्भ गरेका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले सो सेन्टर सञ्चालनमा आएपछि पालिकाका छ वटा वडाका स्वास्थ्य चौकीका लागि आवश्यक नियमित खोप तथा अभियानका खोपहरु भण्डारण गरी सप्लाई गर्न सहज भएको बताए ।
यसअघि पूर्वखोला गाउँपालिकाले रम्भा गाउँपालिकाको ताहुँमा रहेको आईएलआरबाट खोपको भण्डारण तथा वितरण गर्नु पर्ने बाध्यता थियो ।
यो आईएलआरमा दुई देखि आठ डिग्री तापक्रममा खोपहरुको सहज रुपमा भण्डारण गर्न सकिन्छ ।
उनले विभागबाट फ्रिज उपलव्ध हुँदा प्रदेश सरकार अन्तर्गत स्वास्थ्य कार्यालय पाल्पाले आवश्यक अन्य केही सामग्रीहरु पनि सहयोग उपलव्ध गराएको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]