टेकु अस्पताल उपचारका लागि जाने बिरामीका लागि आज ओपिडी र इमरजेन्सी टिकट निशुल्क
काठमाडौँ, १० माघ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आज उपचारका लागि जाने बिरामीले ओपिडी र इमरजेन्सी टिकट शुल्क तिर्न नपर्ने भएको छ । यस्तै अस्पतालमा हुने सम्पूर्ण परीक्षण शुल्कमा आज ५० प्रतिशत छुट दिने पनि घोषणा गरेको छ ।
अस्पतालको ९१ औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो सुविधा दिन लागेको अस्पतालले जनाएको छ ।
विसं १९९० डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत हाल रोपवे टर्मिनल रहेको टेकुस्थित पाटीमा कलेरा अस्पताल स्थापना भएको हो। २०५३ साल माघ ११ गतेदेखि टेकु अस्पतालको नाम शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा परिणत भएको हो। हाल यो अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी १०० शैय्याको ट्रपिकल तथा सरुवा रोगहरुको रिफरल अस्पतालको रुपमा सञ्चालनमा रहेको छ।
अस्पतालका निर्देशक डा युवानिधि बसौलाले बार्षिकोत्सवको अवसरमा आज आउने बिरामीहरुलाई ओपीडी तथा इमरजेन्सी टिकट निशुल्क र अन्य परीक्षणमा ५० प्रतिशत छुट दिइएको बताए । टेकु अस्पतालमा ओपिडी र इमरजेन्सीको टिकट ५० रुपैयाँ तोकिएको छ ।
डा. बसौलाका अनुसार अहिले टेकु अस्पतालमा दैनिक औषत ६ ओपिडी र ३० जना भन्दा बढी इमरजेन्सी उपचारका लागि आउने गरेका छन् ।
अस्पतालले आज ९१ औँ वार्षिकोत्सव मनाउँदै छ ।
सम्पर्क इमेल : [email protected]