स्वास्थ्यका सवारी साधानको दुरुपयोग रोक्न लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले सुरु गर्यो डिजिटल निगरानी
काठमाडौँ, १० माघ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालले आफ्नो र मातहतका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनमा ग्लबोल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गरि डिजिटल प्रविधिबाट निगरानीको प्रक्रिया अघि बढाएको छ ।
सरकारी गाडीहरुको दुरुपयोग भएको व्यापक जनगुनासो पश्चात् लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका सरकारी गाडीहरुमा डिजिटल निगरानीको प्रक्रिया अगाडि बढाएको हो ।
यसअघि आर्थिक वर्ष २०८०/०८१ को स्वास्थ्य सम्वन्धि कार्यक्रमहरुको प्रादेशिक बार्षिक समीक्षा कार्यक्रममा जारी गरिएको लमही घोषणापत्रको १५ नम्बर बुँदामा सरकारी सवारी साधानको विद्युतीय निगरानीको व्यवस्था मिलाईने छ भन्ने उल्लेख थियो ।
‘सोही निर्णयको कार्यान्वयन गर्न अहिले काम अघि बढाईएको हो, यसको एक मात्रै उदेश्य सुशासनका कायम गर्नु हो,’ स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले भने ।
उनले गत २२ पुसमा नै मन्त्रालयले मातहतका कार्यालयलाई यस सम्बन्धी निर्देशन दिएको भन्दै अहिले सम्म ४२ मध्ये ३९ वटा चार पांग्रे गाडीमा जीपीएस जडान भईसकेको जानकारी दिए ।
जीपीएस जडान भएपछि सरकारी गाडी तथा कर्मचारी कहाँ र कुन अवस्थामा छन् भन्ने निगरानी गर्न सहयोग पुग्ने डा. उपाध्यायको दाबी थियो । कार्यालय प्रमुखहरु, जिम्मेवार व्यक्तिहरु नियमित कार्यालयमा रहने, पुरा समय बस्ने र सेवा प्रवाहलाई चुस्त बनाउन प्रेरित गर्न यस्तो निर्णय गरिएको उनको भनाई छ ।
सम्पर्क इमेल : [email protected]